स्वास्थ्यकर्मीमाथि प्रहरीको अभद्र व्यवहार

कारबाहीको माग गर्दै उजुरी

शक्ति परियार । राजापुर

बर्दियामा एक जना स्वास्थ्यकर्मीमाथि प्रहरीले दूर्व्यवहार गरेका छन् ।
राजापुरका एक स्वास्थ्यकर्मीमाथि कोठियाघाटमा डियुटीमा रहेका प्रहरीले अभद्र व्यवहार गरेको भन्दै नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा बर्दियाले खेद प्रकट गरेको छ ।
कोभिड १९ को रोकथामका लागि लकडाउनको समयमा अत्यावश्यक औषधि आपूर्तिका साथै सेवाग्राहीको उपचार गर्न व्यस्त राजापुर ८ स्थित काफ्ले फार्मेसी तथा डी. आर. क्लिनिकका सन्चालक देवेन्द्र काफ्लेमाथि जेठ ९ गते गुलरियाबाट औषधी ल्याएर आउँदै गर्दा बाटोमा घण्टौंसम्म रोकेर अभद्र व्यवहारका साथै तनाव दिएको प्रति संघले खेद प्रकट गरेको हो ।
नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा बर्दियाले शनिबार एक प्रेस विज्ञप्ती जारी गरी औषधी आपूर्तिको समयमा समस्या पैदा हुँदै गएमा अत्यावश्यक औषधिको अभाव भइ नागरिकमा गम्भीर समस्या आइपर्ने चेतावनीसमेत दिएको छ । संघ अध्यक्ष सुरेशकुमार रेग्मी र महासचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा औषधी आपूर्तिका लागि प्रशासनिक निकायको राम्रो सहयोग पाए पनि संघका सचिवसमेत रहेका काफ्लेमाथि भएको अभद्र व्यवहारप्रति दुखः ब्यक्त गरेको छ ।
काफ्ले फार्मेसी एण्ड डिआर क्लिनिकका संचालक देबेन्द्र काफ्लेले पनि बिहीबार बिहान गुलरियाबाट औषधि लिएर फर्कने क्रममा आफूमाथि गाली गलौज र अभद्र व्यवहार गरिएको भन्दै प्रहरीलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय राजापुरमा उजुरी दिएका छन् ।
बिहीबार बिहान ८ः४० बजे औषधी ल्याएर आउँदै गर्दा स्वास्थ्यकर्मी काफ्लेलाई सीमा प्रहरी चौकीमा कार्यरत प्रहरी जवान विष्णु सुनारले कोठियाघाटमा १२ बजेसम्म रोकेका थिए । ती प्रहरी जवानले काठियाघाटमा अन्य यात्रुहरुलाई पनि दुव्यवहार गर्ने गरेको स्थानीयले बताउँदै आएका थिए ।