बाँकेमा ‘कोरोना जितेका’मध्ये ४०% पीसीआर परीक्षण बिना नै घर पुगे

नेपालगन्ज : बाँकेमा कोरोना जितेर आइसोलेसनबाट डिस्चार्ज गरिएकामध्ये ४० प्रतिशतको पीसीआर रिपोर्ट नेगेटिभ नआउँदै घर पठाइएको छ । यीमध्ये अधिकांशलाई घर पठाउँदा कोरोना नै परीक्षण गरिएको छैन ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार शुक्रबारसम्म जिल्लाका ७ स्थानीय तहबाट दुई सय ५० जनालाई आइसोलेसनबाट डिस्चार्ज गरिएको छ । यीमध्ये एक सय एक जना संक्रमितलाई अन्तिम रिपोर्ट नेगेटिभ नआउँदै डिस्चार्ज गरिएको हो । कोरोना नेगेटिभ नहुँदै घर जाने ४०.४ प्रतिशत छन् ।
शुक्रबार मात्रै बाँकेको जानकी गाउँपालिकाको जोगागाउँस्थित श्री माध्यमिक विद्यालयको आइसोलेसनबाट एकैदिन ४१ जना डिस्चार्ज भएका थिए । जानकी १ का वडा अध्यक्ष मो.रजा राईका अनुसार बिहीबार अपरान्ह ४ सबैलाई डिस्चार्ज गरिएको थियो । सो आइसोलेसनबाट २७ जेठमा भागेका नेपालगन्ज उपमहानगरपालिका १२ घर भइ व्यक्ति पनि डिस्चार्जकै सूचीमा छन् । यीमध्ये कसैको पनि अन्तिम पटक कोरोना परीक्षण गरिएन । जिल्लामा डुडुवाका २५, नरैनापुरका २३, नेपालगन्ज उपमहानगरपालिकाका ५, खजुरा र राप्ती सोनारीका तीन–तीन र बैजनाथका एक जना आइसोलेसनमा बसेको १४ दिनपछि कोरोना रिपोर्ट नेगेटिभ नआउँदै घर पुगिसकेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाह उनीहरुको कोरोना नै परीक्षण नगरिएको बताउँछन् । नेपाल सरकारको कोभिड १९ राष्ट्रिय परीक्षण निर्देशिका अनुसार १४ दिन आइसोलेसनमा बसेको व्यक्ति १४ दिनपछि घर पठाउँदा कोरोना परीक्षण नै गर्न नपर्ने र लक्षण देखिएका व्यक्तिलाई थप ३ दिन (अर्थात १७ दिन) मा घर पठाउन सकिने व्यवस्था अनुसार नै परीक्षण बिना नै पठाइएको शाहले प्रष्ट पारे ।