बालविवाह रोक्न संविधानमै बिहे गर्ने उमेर २० वर्ष तोक्न नरैनापुरका किशोरीको माग

खजुराका किशोरीले नेपालको नक्सा बनाएर द्वीप प्रज्वलन गर्दै संविधान दिवस मनाए

नरैनापुर (बाँके) : संविधान दिवसको अवसरमा बाँकेका किशोरी क्लबहरुले रचनात्मक कार्यक्रम गरेका छन् ।
नरैनापुर गाउँपालिकाको सिर्जनशील किशोरी क्लबका पदाधिकारी र सदस्यले बढ्दो बाल विवाह रोक्न संविधानमै बिहे गर्ने उमेर २० वर्ष तोक्न सरकारसँग माग गरेका छन् । नरैनापुर–६ को गंगापुरस्थित वडा कार्यालयमा प्ले कार्ड बोकेर यस्तो माग गरेका हुन् । बाल विवाहविरुद्ध किशोरी क्लब जिल्ला सञ्जाल बाँकेको तथ्याङ्क अनुसार लकडाउनको अवधिमा मात्र जिल्लामा ६९ वटा बाल विवाह भएका छन् ।

खजुरा गाउँपालिका–३ को लगनशील किशोरी क्लबले नेपालको नक्सा बनाएर द्वीप प्रज्ज्वलन गरी संविधान दिवस मनाउँदै । फोटो सौजन्य : चेतना क्षेत्री

संविधान दिवसकै अवसरमा खजुरा गाउँपालिका–३ को लगनशील किशोरी क्लबले भने नेपालको नक्सा बनाएर द्वीप प्रज्ज्वलन गरी मनाएको क्लबकी सदस्य चेतना क्षेत्रीले जानकारी दिइन् । किशोरीहरुले सामूहिक रुपमा सातै वटै प्रदेशको फरक फरक रंगोली बनाएर मैनबत्ति बालेका थिए ।

किशोरीलाई उद्घोषण तालिम
यसैबीच नरैनापुर गाउँपालिकाको सिर्जनशील किशोरी क्लबका पदाधिकारी र सदस्यलाई दुई दिने उद्घोषण तालिम दिइएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक बाँकेले किशोरीहरुलाई बालविवाह रोकथाम परियोजना अन्तर्गत तालिम दिएको हो । अन्नपूर्ण पोस्ट् दैनिकका उप–सम्पादक शंकरप्रसाद खनालले किशोरीहरुलाई उद्घोषणको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिएका थिए ।

Photo by Manju Thapa Magar