कालोपत्रे भएको एक महिनामै पिच फुट्यो
मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका–९ झुङ्गामा निर्माण भएको कालो पत्रे (पिच) महिना दिन नपुग्दै फुटेको छ ।
झुङ्गा चोकदेखि सेतीमैया मावि स्कुल हुँदै हुलाकी सडक जोडने चार सय ६० मिटर बाटोमा बनाइएको सडक एक महिनाभित्रै फुटेको हो । उदय सागर निर्माण सेवा लम्कीको ५० लाखको टेन्डर रहेकोमा ४७ प्रतिशत कम मूल्यमा ठेक्का लिएको कालोपत्रे २६ लाखमा निर्माण भएको थियो । उक्त कालोपत्रे सडकमा कमसल खालको निर्माण सामग्रीको प्रयोग भएका कारण र भदौरे झरिसँगै निर्माण भएको कालोपत्रे फुटेको वडा अध्यक्ष लौटन चौधरीले बताए । वडा अध्यक्ष आफूले कालोपत्रे राम्रोसँग बनाइ दिनु पर्यो भनी ठेकदार र प्राविधिकलाई अनुरोध गर्दा र कार्यपालिकामा अनुगमनका लागि आग्रह गर्दा सव ओभरसियरले सामाजिक सन्जालमा उल्टो तथा नाम लेख्दै गालीगलौज गरि पोष्ट गरेको भन्दै दुखेसो गरेका छन् ।
वर्षादमा गरेको कालोपत्रे टिकाउन नहुने भएकाले कालोपत्रे नगर्न ठेकेदार कम्पनीलाई सुझाव दिएको र रोक्नका लागि वडा अध्यक्ष र प्राविधिकलाई आग्रह गरेको टीकापुर नगरपालिका प्रवक्ता दीर्घबहादुर ठकुल्लाले बताए । १ वर्षसम्म निर्माण कम्पनीको जिम्मेवारी रहने भएकाले सो बाटो निर्माण कम्पनीले नै बनाउनु पर्ने बताएका छन् ।