किन जान्छ, प्युठानमा झ्याप्प-झ्याप्प विद्युत

विद्युत प्राधिकरण प्युठान वितरण केन्द्र जुम्रीका प्रमुख जयानन्द बोगटी

माधव पौडेल । प्युठान
प्युठान नगरपालिका वाग्दुलाका व्यापारी अरूणकुमार श्रेष्ठलार्य देश लोडसेडिङ मुक्त भइसक्दा पनि नगरमा भने लोडसेडिङ कायमै भए जस्तो लाग्छ । ‘विद्युत नियमित नहुँदा लोडसेडिङ्ग जस्तै अनुभुत भएको छ । दैनिक कार्यमा पनि बाधा पुगेको छ’, उनले गुनासो गरे ।
कुटानी पिसानी मिलका सन्चालक शिशिर थापा छिनछिनमा विद्युत गएर आजित छन् । उनी भन्छन्, ‘यस्तो विद्युत सेवाले नोक्सानी मात्रै भइरहेको छ ।’ त्यही पीडा भोगिरहेका गेजवाङ्गका मंगल रोका विद्युत आपूर्ति नियमित हुनुपर्ने माग गर्छन् ।
झ्याप्प–झ्याप्प विद्युत जाने समस्याले प्युठानी जनता नै आजित भएका छन् । फर्निचर, ग्रील व्यवसायी किसान, व्यापारीदेखि सर्वसाधारण सबै अनियमित विद्युतको मर्कामा छन् ।
प्युठानमा विद्युत आपूर्ति नियमित नभएको वर्षौं भइसक्यो। प्युठान नगरपालिका–८ दम्तीमा बनिरहेको सव–स्टेसन कहिले सम्पन्न हुने टुङ्गो लागेको छैन। नेपाल विद्युत प्राधिकरण प्युठान वितरण केन्द्र जुम्रीका प्रमुख जयानन्द बोगटीले सव–स्टेसन निर्माण नेपालगन्ज निर्देशनालयले हेर्ने बताए । उनी छिनछिनमा विद्युत जानुको मुख्य समस्या धेरै लामो हाइटेन्सन लाइन एकै फिडरबाट वितरण हुनुले भएको बताउँछन् । ‘कुनै एक ठाउँमा समस्या आउँदा पुरै लाइन काट्नुपर्ने हुनाले विद्युत गइरहने समस्या भएको हो। फल्ट पत्ता लगाएर पुनः लाइन दिन कहिले काँही दिन भरि पनि लाग्नसक्छ ।
प्रमुख बोगटी चालु आर्थिक वर्षभित्र जिल्लाका सबै स्थानमा विद्युतिकरण भैसक्ने, पुराना काठका पोल विस्थापन गर्ने, तार प्रसारण भएको स्थानमा रूखका हाँगा छिमल्ने, ट्रान्सर्फमर आवश्यक भएको स्थानमा थप गर्ने लगायतका काम धमाधम भइरहेको बताउँछन् ।