कोरोनाको जोखिममा बाँकेका सहर, कूल मृत्युको ८३% र संक्रमितको ७३% सहरी क्षेत्रमा
नेपालगन्ज : बाँके जिल्लामा नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका कोरोनाको उच्च जोखिममा छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार शुक्रबारसम्म जिल्लामा कोरोनाबाट १२ जनाको मृत्यु भएकोमा १० जना नेपालगन्जका र १ जना कोहलपुरका छन् । जुन कोरोनाबाट कूल मृत्युको ८३.३३ प्रतिशत हुन आउँछ । जबकी मृतकमध्ये नेपालगन्जका मात्रै ७५ प्रतिशत हुन् । बढी कोरोना संक्रमणका दृष्टिले जिल्लाका ८ स्थानीय तहमध्ये नेपालगन्ज १ नम्बरमा र कोहलपुर २ नम्बरमा रहेको छ । शुक्रबार मात्र नेपालगन्ज–३ एकलैनीका ५२ वर्षका पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।
सहरी क्षेत्र कोरोनाको उच्च जोखिममा रहेको कुरा संक्रमणको तथ्याङ्क विश्लेषण गर्दा पनि देखिन्छ । जिल्लामा कूल संक्रमित संख्या एक हजार ७ सय ६० रहेकोमा नेपालगन्जका आठ सय २६, कोहलपुरका दुई सय २५ र सरकारी, गैरसरकारी निकाय वा संस्थाका यी दुई पालिकामा कार्यालय रहेका दुई सय २७ गरी सहरी क्षेत्रमा मात्र एक हजार दुई सय ७८ जना संक्रमित रहेका छन् । जुन जिल्लाको कूल कोरोना संक्रमणको ७२.६१ प्रतिशत हो । जिल्लामा नरैनापुर (१२२), खजुरा (११८), राप्ती सोनारी (८४), जानकी (६६), बैजनाथ (५६) र डुडुवामा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।