कोरोनाबाट २ दिनमा २ जनाको मृत्यु

नेपालगन्ज : बाँके जिल्लामा कोरोना संक्रमणबाट दुई दिनमा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार सोमबार जाजरकोटको जुनिचाँदे गाउँपालिका ५ गर्खाकोट घर भएकी ७६ वर्षीया महिलाको दिउँसो २ः१५ बजे कोहलपुरमा मृत्यु भएको हो ।
६ असोजमा कोरोना संक्रमण पुुष्टि भएकी ती महिला कोहलपुरमा छोराको घरको होम आइसोलेसनमा बसेकी थिइन् । सोमबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार गर्न जाने क्रममा मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले जानकारी दिए । ती महिलालाई पित्त शैलीको समस्या पनि थियो । योसँगै बाँके जिल्लामा बाहिरी जिल्लाबाट आएका व्यक्तिको मृत्यु भएको संख्या ६ पुगेको छ । यसअघि आइतबार पनि नेपालगन्ज उपमहानगरपालिका ९ का ४७ वर्षका पुरुषको मृत्यु भएको थियो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा उनको मृत्यु भएको हो । बाँके जिल्लामा भने कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।