नेपालगन्ज भन्सारमा गत वर्षको साउन–भदौभन्दा सवा १ अर्ब बढी राजस्व संकलन

नेपालगन्ज : बाँकेको नेपालगन्ज भन्सार कार्यालयले गत वर्षको साउन र भदौ महिनामा मात्र झन्डै सवा एक अर्ब राजस्व असुली गरेको छ ।
भन्सार कार्यालय नेपालगन्जका निमित्त प्रमुख रमेशकुमार खतिवडाका अनुसार गत वर्षको २ महिनासँग चालु आर्थिक वर्षको २ महिनामा संकलन भएको राजस्व तुलना गर्दा एक अर्ब १७ करोड ७४ लाख चार हजार रुपैयाँ बढी राजस्व संकलन भएको छ ।
गत वर्ष साउन महिनामा ८६ करोड २९ लाख चार हजार र भदौमा एक अर्ब ८८ लाख १५ हजार रुपैयाँ गरी एक अर्ब ८७ करोड १७ लाख १९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । जबकी चालु आर्थिक वर्षको साउन महिनामा मात्र एक अर्ब ६२ करोड ९९ लाख ४५ हजार रुपैयाँ र भदौ महिनामा एक अर्ब ४१ करोड ९१ लाख ७८ हजार रुपैयाँ गरी ३ अर्ब ४ करोड ९१ लाख २३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
खतिवडाले भने, ‘यो वर्षको साउन महिनामा लक्ष्यभन्दा एक सय ७२.०२ प्रतिशत र भदौमा एक सय ३२.९६ प्रतिशत प्रगति भएको छ । जबकी गत वर्षको साउनमा ६९.६५ प्रतिशत र भदौ महिनामा ६५.१६ प्रतिशत प्रगति भएको थियो ।’