बाँकेका सक्रिय संक्रमितमध्ये ३१.४६ प्रतिशतमा लक्षणसहितको कोरोना

लक्षण देखिएर भेरी र शिक्षण अस्पतालको आइसोलेसनमा भर्ना भएका ६ प्रतिशत सिकिस्त, १२ प्रतिशत मध्यम र १४ प्रतिशत सामान्य लक्षण भएका छन्
भेरी अस्पतालको आइसोलेसनमा उपचार गराइरहेकाहरु । फोटो : पूर्ण ढकालको फेसबुकबाट

नेपालगन्ज : बाँके जिल्लामा सक्रिय कोरोना संक्रमितमध्ये एक तिहाइभन्दा बढीमा लक्षणसहितको कोरोना भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बिहीबार बिहानसम्म जिल्लामा कूल तीन सय ५६ संक्रमित रहेकोमा एक सय १२ जनामा लक्षण देखिएको छ । जुन जिल्लाको कूल सक्रिय संक्रमितको ३१ दशमलव ४६ प्रतिशतमा लक्षण देखिएको छ ।
लक्षण भएका संक्रमित भेरी अस्पताल नेपालगन्जमा ६० जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ५२ जनाको उपचार भइरहेको छ । लक्षण भएका संक्रमितमध्ये सिकिस्त २१ जना अर्थात ५.८९ प्रतिशत छन् । त्यस्तै मध्यम लक्षण भएका ४२ जना छन् । जुन कूल संक्रमितको ११.७९ प्रतिशत हो । ४९ जना सामान्य लक्षण भएका छन् । यो संख्या १३.७६ प्रतिशत हो ।
कोरोना फोकल पर्सन श्रेष्ठ प्रष्ट पार्छन्, ‘कोरोनाका लक्षणहरु रुघाखोकी, पखाला, ज्वरो आउने, गन्ध र स्वाद थाहा नपाउने सामान्य लक्षण हुन् । बढी ज्वरो आउने, बढी पखाला लाग्ने, अक्सिजनको तयारी गर्नुपर्ने अवस्था हुने मध्यम लक्षण हो भने अक्सिजन नै चढाउनु पर्ने र भेन्टिलेटरमा राख्नुपर्ने बिरामी सिकिस्त हुन् ।’
लक्षणसहितको कोरोना संक्रमितले कोरोना सार्ने खतरा बढी हुने चिकित्सकहरु बताउँछन् । बाँके जिल्लामा कूल एक हजार नौ सय १३ जना कोरोना संक्रमित रहेकोमा एक हजार पाँच सय ४१ जना डिस्चार्ज भइसकेका छन् । कोरोनाबाट अहिलेसम्म १६ जनाको ज्यान गइसकेको छ ।