साउन-भदौमा चिनीबाट ९५ करोड राजस्व उठ्यो

गत वर्षको साउन र भदौ महिनामा ३४ हजार ७० किलो चिनी भन्सार तिरेर आयात हुँदा १० लाख ९० हजार रुपैयाँ राजस्व संकलन भएको थियो
भाट भटेनीमा बिक्रीका लागि राखिएको चिनी । फोटो : मेरो खुसी

नेपालगन्ज : बाँकेको नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा चिनी आयातबाट झन्डै एक अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।
कार्यालयका निमित्त भन्सार अधिकृत रमेशकुमार खतिवडाका अनुसार साउन र भदौ महिनामा मात्र मात्र ३ करोड ३४ लाख ८७ हजार तीन सय दुई किलो चिनी आयात गरिँदा ९५ करोड १५ लाख ५१ हजार एक सय ४३ रुपैयाँ राजस्व असुली भएको छ । जबकी गत वर्षको यही अवधिमा ३४ हजार ७० किलो मात्र चिनी आयात हुँदा १० लाख ९० हजार ७ सय एक रुपैयाँ राजस्व संकलन भएको थियो ।
‘विगतमा राजस्व छलेर चिनी आउने गरेको थियो । सीमा नाका बन्द भएपछि चिनी भन्सार तिरेर आयात गरिएकाले राजस्व वृद्धि भएको हो’, खतिवडाले प्रष्ट पारे ।
यो वर्ष भाट भटेनीले मात्र साउन महिना यता नेपालगन्ज भन्सार कार्यालयमा राजस्व तिरेर तीन सय ५० टन चिनी खरिद गरेको नेपालगन्ज सुपर स्टोरका प्रबन्धक पुष्कल राईले जानकारी दिए । नेपाली चिनी बिक्री गर्दै आएको भाटभटेनीले सुरुमा ५९, त्यसपछि १० रुपैयाँ बढाएर ६९ हुँदै अहिले भारतीय चिनी खरिद गरी ७५ रुपैयाँ प्रतिकिलो बिक्री गरिरहेको छ ।