शिक्षण अस्पतालमा एकैदिन कोरोनाबाट २ को मृत्यु

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना भाइरस (कोभिड–१९) बाट बिहीबार मात्र दुई जनाको ज्यान गएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बाँके र सुर्खेतका एक एक जनाको कोरोनाबाट मृत्यु भएको हो । नेपालगन्ज उपमहानगरपालिका–४ का ५२ वर्षका पुरुषको बिहान ५ः२० मा मृत्यु भएको हो । १२ असोजमा कोरोना पुष्टि भएका उनलाई दुबै फोक्सोमा निमोनिया भएको थियो ।
त्यसैगरी सुर्खेतको भेरीगंगा नगरपालिका–५ का ७५ वर्षीया महिलाको पनि शिक्षण अस्पताल कोहलपुरमा बिहीबार राति १ बजेतिर मृत्यु भएको हो । दुर्घटनामा परेर ढाड भाँच्चिएको, मृगौला र पित्तथैलीको समस्या रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । योसँगै बाँके जिल्लाका अस्पतालमा बाहिरी जिल्लाबाट आएर उपचार गराइरहेका व्यक्तिको कोरोनबाट मृत्यु हुने संख्या ८ पुगेको छ भने बाँके जिल्लाकै कोरोनाबाट मृत्यु हुने संख्या १७ पुगेको छ । नेपालगन्जका मात्र १३ जनाले ज्यान गुमाएका छन् ।