नेपालगन्जका २२ र कोहलपुरका १२ सहित बाँकेमा ३९ जना बसे होम आइसोलेसनमा

नेपालगन्ज :  बाँके जिल्लामा पनि लक्षण नदेखिएका कोरोना संक्रमितका लागि होम आइसोलेसनको व्यवस्था सुरु भएको छ ।
नेपाल सरकारले होम आइसोलेसनको व्यवस्था गरे पनि बाँकेमा भने त्यस्तो सुविधा दिइएको थिएन । ‘एक हप्ता जति भयो, होम आइसोलेसन सुरु भएको’, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले मेरो खुसीसँग टेलिफोन सम्पर्कमा भने । फोकल पर्सन श्रेष्ठले एक हप्तादेखि मात्र सुरु भए पनि गुपचुप रुपमा होम आइसोलेसनमा राख्ने गरेको कुरा यसअघि नै १२ असोजमा जाजरकोट जुनीचाँदी–५ की ७६ वर्षीया महिलाको होम आइसोलेसनबाट मृत्यु भएको घटनाले पुष्टि गरेको छ । ६ असोजमा कोरोना पुष्टि भएपछि उनी कोहलपुरस्थित छोराको घरमा होम आइसोलेसनमा बसेकी थिइन् ।
जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको विवरणमा ३९ जनालाई होम आइसोलेसनमा राखेको जनाएको छ । ‘२२ जना नेपालगन्ज उपमहानगरपालिका, १२ जना कोहलपुर नगरपालिका र अरु अन्य पालिकाका व्यक्ति होम आइसोलेसनमा बसेका छन्’, फोकल पर्सन श्रेष्ठले प्रष्ट पारे, ‘होम आइसोलेसनमा बसे पनि उनीहरुको स्वास्थ्य उपचारका लागि स्वास्थ्यकर्मी खटाइएको हुुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *