भालुवाङलाई प्रदेश ५ को राजधानी बनाउनु दीर्घकालीन र रणनीतिक महत्व छ : सांसद अथक

नेपालगन्ज :  बाँके क्षेत्र नंं. १ प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज ‘अथक’ले दाङको भालुवाङलाई प्रदेश ५ को राजधानी बनाउन प्रदेश सरकारले गरेको प्रस्ताव रणनीतिक र दीर्घकालीन रुपमा महत्वको भएको बताएका छन् ।
सोमबार नेपालगन्जमा पत्रकार भेटघाट कार्यक्रममा सांसद अथकले प्रदेश सरकारले अत्यन्तै सुझबुझका साथ निर्णय गरेकाले सरकारको निर्णयको स्वागत गर्नुपर्ने बताए । उनले भने, ‘भालुवाङमा प्रदेश राजधानी बनाउनु भने नयाँ सहर र नयाँ प्रशासनीक केन्द्र बनाउनु हो । प्रदेश ५ का सबै जिल्लाको मनोभावना बुझेर गरिएको छ ।’ प्रदेश राजधानी नयाँ ठाउँमा बनाउने निर्णयमा बुटवलवासीले पनि साथ दिनुपर्ने उनको जिकिर थियो ।
कार्यक्रममा उनले राप्ती पारीका वासिन्दाको वर्र्षौदेखि विद्युत सेवा पाउने चाहनालाई ठेकेदार कम्पनीकै लापरबाहीकै कारण अवरुद्ध भएको भन्दै सांसद अथकले विद्युत सेवा विस्तार गर्न अब पनि ढिलाइ गर्न नहुनेमा जोडm दिए । उनको भनाइ थियो, ‘हिजो ठेकेदार कम्पनीले सम्झौता अनुसार काम गरेन । विद्युत प्राधिकरणले सम्झौता नै रद्द गरेर काम अगाडि बढाएको छ । ठेकेदारले अदालतमा मुद्दा दायर गरेर फेरि काम रोक्ने प्रयास गर्नु दुःखद हो । अदालतले पनि जनचाहना अनुरुप आदेश/फैसला गर्न जरुरी छ ।’