टीकापुरमा फुटबल प्रतियोगिता सुरु

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा फुटबल प्रतियोगिता सुरु भएको छ ।
कालिका युवा क्लब नारायणपुरको आयोजनामा राष्ट्रिय माध्यमिक विद्यालय बेलुवाको मैदानमा शुक्रबार टीकापुर–६ का वडाध्यक्ष बलिराम चा‌ैधरीले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटन खेलमा पशु हाटबजार युवा क्लबलाई शून्यकाविरुद्ध ४ गोल गरेर आयोजक कालिका युवा क्लब विजयी भएको छ । पहिलो हाफ बराबरी भएको प्रतियोगितामा दोश्रो हाफमा कालिका युवा क्लबका प्रेम चौधरीले पहिलो गोल गरी जितको खाता खोलेका थिए । त्यसपछि क्रमशः सुरज तिरुवा, भीम थापा र मिरन टमट्टाले एक एक गोल गरेर आफ्नो क्लबलाई जिताएका थिए ।
प्रतियोगितामा टीकापुर, भजनी, लम्कीलगायतका क्षेत्रका २२ वटा टिम सहभागी रहेको खेल संयोजक किरण कडायतले जानकारी दिए । प्रतियोगितामा विजेतालाई ३० हजार, उप–विजेता १५ हजार नगद तथा ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
क्लबका अध्यक्ष देवबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा साबिक नारायणपुर गाविसका पूर्वअध्यक्ष फकिरसिंह कठायत, नेपाल रेडक्रस सोसाइटी नारायणपुर उप–शाखाका टोपबहादुर केसी, लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कपुरसिंह कडायत, विपी निकुञ्ज सामुदायिक वनका उपाध्यक्ष ज्ञानी नायकलगायतले प्रतियोगिताको सफलताको कामना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *