५ मिनेटको अन्तरमा बाँकेमा २ संक्रमितको मृत्यु, २ दिनमा बाँकेका अस्पतालमा ४ को निधन

कोहलपुरका २ जना, नेपालगन्ज र घोराहीका एक एक जनाको कोरोनाबाट २ दिनमा ४ को निधन, बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुग्यो

नेपालगन्ज : कोरोना भाइरस (कोभिड १९) बाट बाँके जिल्लामा शुक्रबार र शनिबार मात्र ४ जनाले ज्यान गुमाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार शुक्रबार २ र शनिबार २ जनाको ज्यान गएको हो । नेपालगन्ज उपमहानगरपालिका १० का ८४ वर्षका पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा शनिबार राति ९ः५५ बजे निधन भएको थियो । उनको मृत्युको ५ मिनेटको अन्तरमा भेरीमै अर्का व्यक्तिले पनि कोरोनाबाट ज्यान गुमाएका थिए । राति १० बजे कोहलपुर नगरपालिका ८ गोल्छा टोलकी ७१ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा कोरोनाबाट मृत्यु भएको थियो ।
शुक्रबार राति ८ः३५ बजे दांगको घोराही उपमहानगरपालिका ३ गोप्लीका १५ वर्षका पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको थियो । उनको मृत्युको साढे २ घण्टाको अन्तरमा शुक्रबार राति ११ बजे कोहलपुर नगरपालिका ९ पिपरीका ३८ वर्षका पुरुषको पनि भेरी अस्पतालमै उपचारको क्रममा मृत्यु भएको थियो ।
योसँगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ भने उपचारका लागि बाँकेका अस्पतालमा आएर कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । अर्थात बाँके जिल्लाका अस्पतालमा कोरोनाबाट मृत्यु हुने कूल संक्रमितको संख्या ३८ पुगेको छ ।