छात्रा कलेज व्यवस्थापनबारे सह-प्राध्यापकको संयोजकत्वमा ७ सदस्यीय समिति गठन

नेपालगन्जमा प्रस्तावित छात्रा कलेजको व्यवस्थापनबारे छलफल कार्यक्रम । फोटो सौजन्य : गोविन्द शर्मा

नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाले छात्रा कलेज सञ्चालन र व्यवस्थापनबारे अध्ययन गर्न सह–प्राध्यापक रविन्द्र कर्णको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।
प्रस्तावित छात्रा कलेजको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेपछि उपमहानगरले आइतबार राजनीतिक दलका प्रतिनिधि, शिक्षाविद, समाजसेवी, नागरिक समाजका अगुवा लगायतसँग कलेजको सञ्चालन र ब्यवस्थापनका सम्बन्धमा छलफल गरेको हो । नगर प्रमुख डा. धवल शम्शेर राणाको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा प्रदेशसभा सदस्य समेत रहनुभएका नेकपा बाँकेका अध्यक्ष आईपी खरेल, नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइराला, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका प्रमुख लालमणी आचार्य, डा. जनार्दन आचार्य, शिक्षासह प्राध्यापक अशोक बस्नेत, सञ्जयराज सिंह, समाजसेवी विजय गुप्ता, राप्रपाका अध्यक्ष नरेन्द्र पौडेल, उपमहानगर प्रवक्ता प्रमोद रिजाललगायतले छात्रा कलेज सञ्चालन र ब्यवस्थापनका लागि सुझाव दिएका थिए । नगर प्रमुख राणाले मुस्लिम, मधेसीलगायत सबै समुदायका छात्रालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले उत्कृष्ट शैक्षिक संस्थाको रुपमा छात्रा कलेज सञ्चालन गरिने बताए ।