रहरले गरेको मौरीपालन बन्यो बुढेसकालको सहारा
नेपालगन्ज: एक दसक अघि चितवनमा आफन्तको घरमा जाँदा मौरीपालन गरेको देखेर बाँकेको खजुरा गाउँपालिका ३ धौलागिरीका थलबहादुर थापाले मौरीपालन गर्ने रहर गरे । ६६ बर्षे थापाले रहर मेटाउन अर्कोपटक त्यहीवाट तीनघार मौरी ल्याएर घरमै पाल्न सुरु गरे । १० बर्षको अवधिमा उनको मौरी पालन गर्ने रहर मात्र पुरा भएको छैन रहरै रहरमा सुरु गरेको व्यवसाय अहिले बुढेसकालको सहारा बनेको छ ।
थापाले अहिले तारा मौरी फर्म खोलेर व्यवसायीक रुपमा ७५ घारसम्म मौरी पाल्दै आईरहेका छन । उतीबेला रहरमै सुरु गरेपनि मौरी पालनवाट राम्रो आम्दानी हुनुका साथै तालिम लगायत अन्य सहयोग प्राप्त हुन थालेपछि थापाले २०७० सालदेखि लगानी विस्तार गरी व्यवसायीक मौरी पालन शुरु गरेका हुन । हाल उनले घरमै बसेर बार्षिक ६ लाख रुपैयाको मह बिक्रि गर्ने गरेको बताए । ‘सबै खर्च कटाएर बर्षमा साढ चार लाख रुपैया मुनाफा हुन्छ’ उनले भने ‘मेरो बुढेसकालको सहारा यही मौरीपालन भएको छ ।’ यही व्यवसायबाट घरखर्च देखि अन्य जीविकोपाजर्न गर्दै आएका उनले यसैलाई निरन्तरता दिने बताएका छन । थलबहादुरले सुरु गरेको व्यवसायमा उनकी श्रीमतीको समेत साथ समर्थन र सहयोग रहेको छ ।
पछिल्लो समय महको माग बढ्दै गएपछि बजारको समेत अभाव नभएको उनी बताउँछन । उनले उत्पादन गरेको महको जिल्लाका विभिन्न स्थानवाट माग हुने गरेको छ । माग अनुसार मह उत्पादन गर्न नसकिएको बताउँदै थापाले यो व्यवसायमा बेरोजगार युवा लगायत अन्य कृषकहरु लागेर परिपुर्ति गर्न सकिने ठुलो सम्भावना रहेको बताए ।
पैसा कमाउन जागिर नै खानु पर्छ, यात विदेश नै जानुपर्छ भन्नेका लागि थलबहादुर उदाहरणीय पात्र बनेका छन । उनले ईच्छाशक्ती भए थोरै लगानीवाट राम्रो आम्दानी गर्न सकिने बताए । थोरै लगानी, कम मेहेनत र सानो क्षेत्रफलमा सजिलै संग गर्न सकिने भएकोले नेपालमा मौरी पालन व्यवसायको राम्रो सम्भावना रहेको छ । पछिल्लो समय कोरोना महामारीका कारण धेरै युवाहरु बेरोजगार भई बसीरहेका बेला गाउँ घरमै स्वरोजगार बन्न सकिने मौरीपालन व्यवसाय गरी युवाहरुलाई आत्मनिर्भर बनाउन सकिन्छ । सरकारले पनि आफ्नो नीति तथा कार्यक्रममा स्वरोजगारमुलक व्यवसायलाई प्रोत्साहन गरी यस्तो व्यवसायतर्फ आकर्षीत गर्न जरुरी रहेको उनी बताउँछन ।