‘कोहलपुर नगरपालिकामा चोर बाटोबाट बजेट’

नेपालगन्ज : कोहलपुर नगरपालिकाले चोर बाटोबाट बजेट ल्याएको छ ।
नगर उपप्रमुख सञ्जुकुमारी चौधरीले प्रस्तुत गर्नुपर्ने बजेट नेपाली कांग्रेस, नेकपा निकट सभा सदस्यले बहिस्कार गरेपछि कार्यपालिका सदस्य डिलबहादुर परियारले प्रस्तुत गरेका थिए । यसरी बजेट प्रस्तुत हुनुलाई उपप्रमुख चौधरीले ‘चोर बाटोबाट’ ल्याएको बताइन् । बजेट प्रस्तुत गर्दा रातिको साढे ७ बजेको विरोधी पक्षको दाबी छ । नगर प्रमुख लुटबहादुर रावतले पनि मेरो खुसीसँगको टेलिफोन सम्पर्कमा विवाद भएको स्वीकार गर्दै एमाले बाहेकका सभा सदस्य उपस्थित भएर गएपछि साँझ साढे ६ बजेतिर बजेट प्रस्तुत गरेको जानकारी दिए । नगरपालिकाले एक अर्ब १७ करोड ३४ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उपप्रमुख चौधरीलगायतको टोलीले बजेट निर्माण प्रक्रियामै विवाद रहेको जनाएको छ । ‘हामीले कोरोनाबाट प्रभावित क्षेत्रलाई राहात मिल्ने, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई प्राथमिकता दिएर बजेट बनाउन गरेको आग्रहलाई बेवास्ता गर्दै भ्यू टावर, कर्बड हल, बसपार्क जस्ता पूर्वाधारलाई प्राथमिकता दिइएको छ’, चौधरीले भनिन्, बजेटबारे हाम्रो धारणा प्रस्तुत गर्न शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिनेछौं ।’