सत्तीघाट पुलको एप्रोच स्ल्याब भत्कियो, यातायात अवरुद्ध

राजापुर : पूर्व–पश्चिम हुलाकी राजमार्ग अन्तगर्त बर्दिया र कैलाली जोड्ने राजापुरस्थित सत्तीघाट पुलको एप्रोच स्ल्याब भत्किएको छ ।
कर्णाली नदीमा पानीको सतह बढेसँगै पुलको राजापुरतर्फको किनारमा पुललाई सडकसम्म जोडिएको एप्रोच स्ल्याव भत्किएको हो । पुल किनारमा रहेको स्ल्याव भत्किएसँगै बर्दिया र कैलालीबीचको आवागमन बन्द गरिएको राजापुर नगरपालिकाका मेयर शिवकुमार चौधरीले बताए । पुल सुचारु गर्न सरोकारवाला निकायसँग आवश्यक पहल भइरहेको उनको भनाइ छ ।
हुलाकी सडक आयोजना अन्तगर्त २०७१ सालमा निर्माण भएको पुलमा १४ वटा पिलर निर्माण गर्नुपर्ने सम्झौतामा भए पनि पुल निर्माणकै क्रममा नदीले धार परिवर्तन गरेको थियो । निर्माण भएको वर्ष दिन नपुग्दै स्लोप जाली नदी कटानले बगाएपछि पुलको अन्तिमपिलर देखि ७० मिटर पूर्वी किनारा राजापुर क्षेत्रतर्फ एउटा स्ल्यावसहित पिलर थप गर्नुपर्ने अवस्था आएको थियो तर हुलाकी सडक आयोजनाको लापरवाहीका कारण पिलर बिना नै तटबन्ध बाधेर माटो पटानी गर्नाले नदी कटानको जोखिममा पुल परेको हो । त्यतिबेलादेखि नै पुल संरक्षणका लागि स्थायी रुपमा संरचना निर्माण नगरी गाइडवन्डको भरमा अस्थायी रुपमा कार्य गर्दा हरेक वर्ष वर्षायाममा पुल नदी कटानको जोखिममा पर्ने गरेको स्थानीयको भनाइ छ । गत वर्ष उच्चस्तरीय अनुगमन टोलीले पुलको समस्या दिर्घकालिनरुपमा समाधानका लागि राजापुर क्षेत्र तर्फ एक स्पान थप्नुपर्ने सुझाव दिएको थियो । तर स्पान नथपी भासिएको स्थानमा अस्थायी रुपमा निर्माण कार्य गरी पुल सञ्चालनमा ल्याउँदा समस्या दोहोरिएको हो । पुल नदीको बीचबाटै पिलर बिना नै निर्माण गरेकोले जोखिममा परेको भन्दै पहल गरीदिन विभिन्न निकायमा पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको बर्दिया उद्योग वाणिज्य संघले जनाएको छ ।