मानव अधिकारका सवालमा बाँकेका पत्रकार र अधिकारकर्मी एकताबद्ध

नेपालगन्ज : बाँकेका पत्रकार र अधिकारकर्मीले मानव अधिकारको सवालमा एकताबद्ध भएर लाग्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ बाँके शाखा र इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जले सोमबार नेपालगन्जमा आयोजना गरेको लुम्बिनी प्रदेशको मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रममा अग्रज पत्रकार र मानव अधिकारकर्मीले मिलेर काम गर्दा पीडितलाई न्याय दिलाउन र मुद्दा प्रभावकारी बन्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा बरिष्ठ पत्रकारहरु पूर्णलाल चुके, लियाकत अलि, शिव डोटेल, प्रेम केसी, रुद्र सुवेदी, शुक्रऋषि चौलागाई डक्टप्रसाद धिताल र अक्षरी पोखरेलले पत्रकार र अधिकारकर्मीबीच सहकार्यका विषयमा धारणा राखेका थिए । त्यसैगरी नेपाल बार एशोसियसनका उपाध्यक्ष सुनिल श्रेष्ठ, विकास आचार्य, प्रल्हादबहादुर कार्की, वसन्त गौैतम, सुरेश गौतम, रविन्द्र कर्ण, प्रभातसिंह ठकुरी लगायतले मानव अधिकारका सवालमा पत्रकारले कलम चलाउँदा अधिकार स्थापित गर्न मद्दत पुग्ने बताएका थिए । कार्यक्रममा मानव अधिकारकर्मी र पत्रकारले लुम्बिनी प्रदेशको मानव अधिकारको अवस्थाबारे चिन्ता गरेका थिए । कोरोना कहरमा राज्यले नागरिकलाई खोप सेवा दिन नसकेकाले बाँच्न पाउने अधिकार संरक्षण गर्न नसक्दा धेरैले ज्यान गुमाएकोे बताएका थिए ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्र्यक्रममा इन्सेकका लुम्बिनी प्रदेश प्रमुख भोला महतले कार्यक्रमको उद्देश्यमाथि जानकारी गराएका थिए । विगत केही वर्षयता बाँकेका पत्रकार र अधिकारकर्मी अधिकारको सवालमा एक ठाउँमा थिएनन् । महासंघमाका अध्यक्ष भण्डारी जिल्ला स्तरीय मानव अधिकार अवस्था अनुगमन समितिको संयोजक चयन भएसँगै अधिकारकर्मीसँग साझेदारी सुरु भएको छ । अध्यक्ष भण्डारीले आगामी दिनमा मिलेर काम गर्ने प्रतिबद्धता जनाएका थिए ।