एक महिने पत्रकारिता तालिम सम्पन्न
शिरीष रेग्मी । नेपालगन्ज
नेपाल पत्रकार महासंघ बाँके शाखाले नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा आयोजना गरेको एक महिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ ।
७ असारमा नेपालगन्ज नगर प्रमुख डा. धवल शमशेर राणाले उद्घाटन गरेको तालिम आइतबार नगर उप–प्रमुख उमा थापा मगरले प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेर समापन गरिएको हो । उप–प्रमुख थापाले आफ्नो विगतको पत्रकारिताको अनुभव सुनाउँदै स्वतन्त्र र निष्पक्ष रुपमा पत्रकारिता पेशामा लाग्न प्रशिक्षार्थीहरुलाई सुझाव दिएकी थिइन् । उनले पत्रकारिता पेशामा अवसर र चुनौती दुबैको सामना गर्नुपर्ने औल्याउँदै व्यक्तिगत लान्छना र व्यक्तिको गोपनीयताको हकको सम्मान गर्दै पत्रकार आचार संहिताको पालना गर्दै कलम चलाउन प्रशिक्षार्थीहरुलाई आग्रह गरिन् । उनले भनिन्, ‘बाहिर पत्रकार भन्नाले भयावह रुप जस्तो देखिन्छ । तपाईहरु सकारात्मक रुपमा कला चलाउनुस् । स्वस्थ आलोचना गरेर समाचार लेख्न सक्नुहुन्छ ।’
महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका ४ का वडा अध्यक्ष सफीक बेहना, महासंघका सहसचिव कृष्ण ओलीले स्वागत मन्तव्य, प्रशिक्षकद्वय शंकरप्रसाद खनाल र नविन गिरीले तालिममा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उर्तान प्रशिक्षार्थीसँग आग्रह गरेका थिए । एक महिने तालिमको अनुभव सुनाउँदै प्रशिक्षार्थीद्वय समीर अलि बेहना र पूजाकुमारी वैश्यले तालिममा सिकेको कुरा व्यवहारमा उतार्न उपयोगी भएको बताएका थिए ।
तालिमका संयोजक तथा प्रमुख प्रशिक्षक शंकरप्रसाद खनालले पत्रकारिता सिद्धान्त, समाचार, समाचारको संरचना, समाचार लेखनका सैद्धान्तिक र व्यवहारिक ज्ञानबारे अभ्यास गराएका थिए । तालिममा नेपालगन्ज एक्सप्रेस दैनिकका सम्पादक शिव डोटेलले समाचार सम्पादन, सम्पादकीय लेखन र पत्रकार आचार संहितका विषयमा सहजीकरण गरेका थिए । हिमालय टेलिभिजनका संवाददाता कृष्ण अधिकारीले खोज पत्रकारिता, न्यूज २४ टेलिभिजनका व्यूरो प्रमुख कृष्ण खनालले फोटो पत्रकारिता, नेपाल टेलिभिजन कोहलपुरका कार्यक्रम प्रमुख रामचन्द्र लोहारले टेलिभिजन पत्रकारिता, रेडियो नेपालका संवाददाता नविन गिरीले रेडियो पत्रकारिता, जीवन शर्माले स्वास्थ्य पत्रकारिता, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरन्जीवी ओलीले अन्तर्वार्ता, नेपाल टेलिभिजनका प्रस्तोताद्वय दुर्गाकुमारी भट्ट र प्रेमबहादुर बुढाले टेलिभिजनको समाचार र कार्यक्रम प्रस्तुतीका विषयमा सहजीकरण गरेका थिए ।
एक महिने पत्रकारिता तालिममा २० दिन सैद्धान्तिक कक्षा र १० दिन बाँकेका विभिन्न मिडिया हाउसमा इन्टर्नसीपमा पठाइएको थियो । २३ जनालाई लक्षित गरी सञ्चालन गरिएको भए पनि सहभागीको बढ्दो रुचीलाई ख्याल गर्दै ३४ जनालाई सहभागी गराइएको थियो । महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारीले युवा पुस्तामा पत्रकारिता पेशाप्रति आकर्षण र उत्साह देखेर आगामी दिनमा विषयगत/विधागत र एड्भान्स पत्रकारिता तालिम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए ।