युद्ध माविले किन हटायो संस्कृत शिक्षा ?

महेन्द्र शर्मा । नेपालगन्ज
कुनै बेला नेपालगन्जको युद्ध संस्कृत माविमा विद्यार्थीलाई भर्ना हुन सजिलो थिएन । राणाकालमा स्थापना भएको (वि.स.१९८७) बाँके जिल्लाको दोस्रो विद्यालय भए पनि संस्कृत शिक्षाको एक मात्र विकल्प थियो । साबिकका मध्य र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका धेरै जिल्लाबाट विद्यार्थी पढ्न आउँथे । प्रधानाध्यापक दिलिप श्रीवास्तव अहिले एक सयभन्दा पनि कम विद्यार्थी भएको बताउँछन् ।
उनी भन्छन्, ‘संस्कृत विषयमा पढाउने बेलासम्म विद्यार्थीको संख्या धेरै हुन्थ्यो । संस्कृत शिक्षा हटेपछि विद्यार्थीको संख्या घट्दै गएको हो ।’ १० वर्षे सशस्त्र द्वन्द्वका बेलामा विद्रोही माओवादीले संस्कृृत नपढाउन दवाब दिएका थिए । संस्कृत पढाउने एक मात्र माध्यमिक विद्यालयबाट संस्कृत हटाइयो । पञ्चायतकालमा झैं संस्कृत पढ्न काशी र बनारस जानुपर्ने अवस्था आयो ।
संस्कृत शिक्षा हटाएको सनातन धर्म मान्नेहरुले स्वीकार गरेका थिएनन् । संस्कृतका अनुयायीहरु अझै पनि त्यो कदमको विरोध गरिरहेका छन् । नेपालगन्जको हनुमानगढी मन्दिरका महन्त मूल महन्त उमेश गिरी संस्कृत भाषा सनातन धर्मको मेरुदण्ड भएको र सनातन धर्म संस्कारको प्रतीक भएकाले संरक्षण गर्नुपर्नेमा जोड दिन्छन् । ‘संस्कृत भाषाबाट नै अरु भाषाको विकास भएको हो । संस्कृत भाषाले नै सनातन धर्मलाई चिनाउँछ । यो देशकै पहिचान हो । यो भाषालाई बेवास्ता गर्दा देशको यस्तो विजोग भएको हो’, महन्त गिरीले चिन्ता व्यक्त गरे ।
शिक्षाविद् किरण आचार्य पनि हिन्दु बाहुल्य नेपालमा संस्कृत शिक्षाको आवश्यकता सधै रहेको बताउँछिन् । ‘लोकतान्त्रिक कालमा भाषाको बहुलता स्वीकार्नुपर्ने बेलामा यही कालखण्डमा संस्कृतलाई मृत भाषा बनाउने काम भएको छ । जुन दुर्भाग्य कुरा हो’, उनले माओवादीले संस्कृत शिक्षाप्रतिको व्यवहार सम्झिन, ‘जनयुद्धकालमा एक दिन म सरस्वती माविमा पढाउँदै थिए । छ सात जना माओवादी कार्यकर्ता कक्षा कोठामा आए । विद्यार्थीको हातबाट संस्कृतको किताब खोसेर विद्यालय परिसरमा जलाए ।’
शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रामसुरेश यादव युद्ध संस्कृत माविले चाहेमा पुनः संस्कृतको पढाउन सक्ने बताउँछन् । ‘विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर विगतमा जस्तै संस्कृत विषय पढाउन सक्छन्’, उनले सुझाव दिए ।
जुद्ध संंस्कृत माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कौशलकुमार मिश्र पुन संस्कृत भाषामा अध्ययन अध्यापन गराउने तयारी गरिरहेको बताउँछन् । ‘यही शैक्षिक शत्रमा हामी कक्षा ६ देखि ८ सम्म संस्कृत भाषाको पाठ्यक्रम पढाउने तयारी गरेका छौं । चाँडै पढाइ सुरु हुनेछ’, अध्यक्ष मिश्रले प्रष्ट पारे ।
राणा प्रधानमन्त्री जंगबहादुर राणाको निर्देशनमा आजभन्दा १६१ वर्ष अघि तराईको पहिलो सहरको रुपमा नेपालगन्ज बनाइएको थियो । राणाकालीन विद्यालयबारे अध्ययन गरिरहेका गोरखापत्र दैनिकका पत्रकार प्रकृति अधिकारी १९८५ मा मंगलप्रसाद मावि (१९८५), जुद्ध मावि (१९८७), नारायण मावि (१९९२) र सरस्वती मावि (१९९८) मा स्थापना भएका थिए । यी चार वटै विद्यालयमा संस्कृत विषय पढाइ हुने भए पनि संस्कृत मात्र पढाउने विद्यालय मात्र थियो । संस्कृतको फेरि पनि पढाइ सुरु हुने भएपछि अनुयायी उत्साही भएका छन् । महन्त गिरी सरकारसँग माग गर्छन्, ‘हिन्दु धर्ममा जन्मदेखि मृत्यु संस्कारको कर्म गर्न संस्कृत भाषाका धर्मग्रन्थको प्रयोग हुन्छ । त्यसैले पनि सरकारले संस्कृत शिक्षालाई अनिवार्य गर्नुपर्छ ।’