भेरी अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गर्नुपर्नेमा जोड

नेपालगन्ज : भेरी अस्पताललाई सरकारी मेडिकल कलेजका रुपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन ।

भेरी अस्पतालको १३१ औं स्थापना दिवसका अवसरमा मंगलवार अस्पतालमा आयोजना गरिएको कार्यक्रममा शुभकामना मन्तब्य राख्दै सरोकारवालाहरुले उक्त कुरामा जोड् दिएका हुन । कार्यक्रममा भेरी अस्पतालका बरिष्ठ चिकित्सक डा. श्याम सुन्दर यादवले बुटवल देखि पश्चिममा एउटा पनि सरकारी मेडिकल कलेज नभएकोले प्रयाप्त पुर्वाधार सुविधा भएको भेरीलाई मेडिकल कलेजका रुपमा विकास गर्नुपर्ने बताए । ‘यो ठाउमा कती जनसंख्या छ त्यसलाई आधार मानेर मेडिकल कलेज स्थापना गर्न पहल गर्न म सचिव ज्यु लाई अनुरोध गर्दछु’ उनले भने ।
त्यसैगरी भेरी अस्पताल विकास समितिका पुर्व अध्यक्ष वेदप्रसाद आचार्यले भेरीलाई मेडिकल कलेज बनाउन विगत देखि नै पहल भईरहेपनि हुन नसकेको भन्दै जसरी पनि सरकारी मेडिकल कलेज हुनैपर्ने बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटाले आफु यसै प्रदेशको भएकोले यस अस्पतालको विकासका लागि आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन श्रेष्ठले भेरीलाई मेडिकल कलेज बनाउन आफु सकारात्मक रहेको बताए । उनले उक्त कुरामा आफु सकारात्मक रहेको भन्दै यसमा राजनीतिक दलको सहमति जरुरी रहेको बताए । उनले कोरोना महामारीमा भेरी अस्पतालका स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाको उच्च प्रशंसा गरेका छन् । उनले अस्पताल विकास समितिलाई भर्ति केन्द्र नबनाउन समेत अस्पताल विकास समितिलाई आग्रह गरे ।
अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका मेसु डा. प्रकाश थापाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा अस्पतालमा २५ वर्षदेखि कार्यरत कर्मचारीलाई सम्मान समेत गरिएको थियो भने अस्पतालले प्रकाशन गरेको स्मारिका अक्सिजनको समेत विमोचन गरिएको थियो ।