कति भयो बाँकेका सरकारी कार्यालयहरुको विकास बजेट खर्च ?
नेपालगन्ज : बाँकेमा आर्थिक वर्ष २०७७ ०७८ का लागि संघीय सरकारबाट विनियोजित बजेटमध्ये करिब ८४ प्रतिशत कुल बजेट खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) बाँकेका प्रमुख रामचन्द्र शर्माका अनुसार जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयहरुका लागि संघीय सरकारवाट विनियोजन भएको कूल १८ अर्ब ८५ करोड ८९ लाखमध्ये १५ अर्ब ८५ करोड २० लाख रुपैयाँ अर्थात ८४.०६ प्रतिशत खर्च भएको हो । जसमध्ये ९३.१३ प्रतिशत चालु खर्च भएको छ भने पूँजीगत बजेट ७२.६८ प्रतिशत खर्च भएको हो । त्यस्तै, प्रदेश सरकार अन्तगर्त जिल्लामा रहेका कार्यालयहरुका लागि कूल ३ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ विनियोजन भएकोमा २ अर्ब ८३ करोड ६६ लाख रुपैयाँ खर्च भएको हो । जसमध्ये पूँजीगत बजेट करिब ८० प्रतिशत खर्च भएको कोलेनिका शर्माले बताए ।
यस्तै, जिल्लाका आठ वटा स्थानीय तहहरुले गत आर्थिक वर्षमा कूल ७६.६२ प्रतिशत खर्च गरेका छन् । गत आर्थिक वर्षको वार्षिक बजेट ७ अर्ब ५५ करोड रहेकोमा खर्च ५ अर्ब ७८ करोड भएको छ । यो खर्च संघीय सरकार र प्रदेश सरकारको बजेटको तुलनामा कम भएको कोलेनिकाले जनाएको छ ।