लागूऔषधको कारोबारमा महिला संलग्नता बढ्यो

लागूऔषध नियन्त्रण मेरो पहिलो प्राथमिकता हो : इलाका प्रहरी कार्यालय टीकापुर इन्चार्ज डीएसपी सापकोटा

मानबहादुर ठकुल्ला । टीकापुर

कैलालीको टीकापुरमा लागूऔषधको कारोबारमा महिला संलग्नता बढेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरले शुक्रबार लागूऔषध कारोबारमा संलग्न एक महिलालाई पक्राउ गरेको छ । इप्रका इञ्चार्ज डीएसपी प्रकाश सापकोटाका अनुसार अनुसार टीकापुर नगरपालिका–६ भर्तापुरकी २४ वर्षीया सुमन चौधरीलाई लागूऔषध सहित पसलबाट पक्राउ गरिएको हो । उनको पसलबाट ६०० थान नाइट्राभेट–टेन र ९६ थान स्पास्प्रोक्स क्याप्सुल बरामद गरेको छ । प्रहरीका अनुसार चाउचाउको पेटी भित्र लुकाएर राखेको अवस्थामा लागूऔषध बरामद भएको हो । पक्राउ परेकी ती महिलाले आफूलाई यस बारेमा कुनै जानकारी नभएको बताएकी छन । उनले श्रीमान लौटन चौधरीलाई जानकारी हुने बताइन । उनका श्रीमान फरार छन् । सोही ठाउँका २५ वर्षका दिलिप राई लागूऔषध सहित पक्राउ परेपछि प्रहरीले चौधरीको पसलमा छापा मारेको थियो। प्रहरीले राईलाई टीकापुर नगरपालिका–३ रामपुरबाट पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ६० थान नाइट्राभेट–१० र १६ थान स्पास्प्रोक्स क्याप्सुल बरामद गरेको थियो । उनीहरु दुबै जनालाई लागूऔषध कारोबार अन्तर्गत मुद्दा इप्रकाले जनाएको छ ।
यस अघि ३ जेठमा प्रहरीले लागूऔषध ओसारपोसारमा संलग्न रहेका टीकापुर नगरपालिका–७ बैदीर्की २४ वर्षीया दिलु रिमाल र १९ वर्षीया राधा पाण्डेलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुको साथबाट ९ ग्राम ९५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो । उनीहरुले प्रहरीसँगको बयानमा एक भारतीय नागरिकबाट ३४ हजार रुपैयाँमा सीमा क्षेत्रबाट खरिद गरेर ल्याएको बताएका थिए । प्रहरीले उनीहरु उपर लागूऔषध ओसारपोसारको मुद्दा दायर गरेको छ । हाल उनीहरु दुबैजना प्रहरी हिरासतमा छन् ।
कोरोनाका कारण शैक्षिक संस्था बन्द भएपछि युवायुवतीहरु लागूऔषधको दुर्व्यसनमामा फसेको प्रहरीले जनाएको छ । युवायुवतीहरु लागूऔषध दुर्व्यसनमा फसेपछि विभिन्न अपराधिक क्रियाकलापका घटना समेत बढेका छन । प्रहरीका अनुसार लागूऔषध दुव्र्यसनमा संलग्न १५ देखि ३५ वर्ष उमेरका धेरै छन । पछिल्लो समय लागुऔषध दुर्व्यसनमा फस्नेमा युवासँगै युवतीको संख्या समेत बढेको छ । लागूऔषध कारोबारमा महिलाहरुको संलग्नता समेत धेरै देखिएको छ । उनीहरुमाथि सुरक्षाकर्मीले शंका नगर्ने अनुमानका आधारमा महिलाहरु लागूऔषध कारोबारमा संलग्न हुने गरेको छ ।
यसैबीच हालै इलाका प्रहरी कार्यालय टीकापुरको इञ्चार्जका रुपमा सरुवा भएर आएका डीएसपी सापकोटाले लागूऔषध नियन्त्रण आफ्नो प्रमुख जिम्मेवारी हुने प्रतिबद्धता जनाएका छन् । सञ्चारकर्मीहरुसँगको परिचयात्मक कार्यक्रममा डीएसपी सापकोटाले समाजलाई लागूऔषध मुक्त बनाउने प्रहरीको अभियानमा साथ दिन आग्रह गरे । उनले प्रहरीको एक्लो प्रयासले मात्रै समाज सुधारको दिशामा अघि नबढ्ने बताउँदै सबैको हातेमालो आवश्यक रहने बताए । खुल्ला सीमा नाकाका कारण टीकापुरमा भारततर्फबाट लागूऔषधको ओसारपोसार ह्वात्तै बढेको उनले बताए ।
निषधाज्ञाका कारण सीमावर्ती बजारसम्म सहज आवागमन नभएपछि भारतीय नागरिकले नै लागूऔषध सीमा क्षेत्रसम्म ल्याउने गरेका छन् । लागूऔषध खरिदका लागि कारोबारी र सेवनकर्ता सीमा क्षेत्रमै पुग्ने गरेका छन्।