जानकी-२ पनि बालविवाह मुक्त वडा घोषणा

बेलभार (बाँके) : बाँकेको जानकी गाउँपालिकाको वडा नं. २ पनि बालविवाह मुक्त वडा घोषणा भएको छ ।
जानकी गाउँपालिकाको बेलभारमा शनिबार आयोजित कार्यक्रममा वडा नं. २ का अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले वडालाई बालविवाह मुक्त घोषणा गरेका थिए । जानकी गाउँपालिकामा बालविवाह मुक्त भएको यो तेस्रो र बाँके जिल्लाको १३औंं बालविवाह मुक्त वडा भएको छ । यसअघि जानकीको वडा नं. १ र ४ बालविवाह मुक्त वडा घोषणा भइसकेका छन् ।

बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले चाँडै सिँगोे गाउँपालिकालाई नै बालविवाह मुक्त घोषणा गर्ने तयारी गरेको बताए । त्यसका लागि बजेट पनि विनियोजन गरेको जानकारी दिए । जानकी-२ का अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले एक वर्षको प्रयासपछि वडालाई बालविवाह मुक्त गर्न सफल भएको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘सन्तानको उमेर बढाएर बालविवाह गर्न पाउँ भनेर सिफारिस माग्न आउँथे । हामीले कानुनी कारबाही गर्ने बताएपछि आज बालविवाह मुक्त वडा घोषणा गर्न सफल भएका छौं ।’

सो अवसरमा बालविवाहविरुद्ध क्रियाशील नेपालगन्ज उपमहानगरपालिका नगर स्तरीय किशोरी क्लब सञ्जालकी अध्यक्ष पूजा वर्मा, बाल क्लबका अंकित मिश्रा, प्लान इन्टरनेशनल नेपाल, स्याक नेपाल बाँके, बेलभार प्रहरी चौकी, किशोरी क्लब, बाल क्लबलगायतलाका संघसंस्थालाई सम्मान गरिएको थियो । बालविवाह मुक्त वडा घोषणाका लागि प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपाल बाँकेले जानकी गाउँपालिकामा बालविवाह रोकथाम परियोजना सञ्चालन गरेको छ ।