सहिद स्मारक माविको शैक्षिक गुणस्तर बढाउन स्थानीयको जोड

रमेशकुमार यादव । कम्दी
बाँकेको डुडुवा गाउँपालिकामा रहेको सामुदायिक विद्यालय सहिद स्मारक माविको शैक्षिक गुणस्तर बढाउन पहल गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् ।
डुडुवा ५ कम्दीमा रहेको विद्यालयले शनिबार विद्यालय परिसरमा आयोजना गरेको भेलामा स्थानीय समाजसेवी, शिक्षक, शिक्षाप्रेमी, पत्रकार र अभिभावकले शैक्षिक गुणस्तर बढाउन योजनाबद्ध रुपमा काम गर्नुपर्ने सुझाव दिएका हुन् । विद्यालयका प्रधानाध्यपक रामबहादुर ओलीले शिक्षाको गुणस्तर वृद्धि र भैतिक संरचना निर्माणको खाँचोबारे अभिभावकलाई जानकारी गराएका थिए । उनले सहयोगका लागि अभिभावकसँग आग्रह गरेका थिए ।
बभनपुर्वा समुदायिक वनको क्षेत्राधिकारभित्र स्थापना गरिएको विद्यालयले प्रयोग गरिरहेको जग्गा उपलब्ध पनि विद्यालय व्यवस्थापन समितिले माग गरेको छ । समुदायक वनले जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा पत्रकार सूर्यलाल यादवलगायतले शैक्षिक गुणस्तर र भैतिक पूर्वाधार निर्माणमा अभिभावकले तन, मन र धनसहित सहयोेग गर्नुपर्ने बताएका थिए ।
२०२५ सालमा प्राविका रुपमा स्थापना गरेको विद्यालय २०५८ साल निमाविहुँदै मावि सञ्चालन भइरहेको शिक्षक बलबहादुर ओली बताउँछन् । विद्यालयमा मावि दरबन्दी शून्य छ । ३ जना माग गरिएको भए पनि गाउँपालिकाले राहातमा उपलब्ध गराइएका १ जना शिक्षकसमेत हटाइएको पूर्वशिक्षक चन्द्रबहादुर ऐरीले बताए ।