२ दशकदेखि डल्फिन संरक्षणमा स्थानीय
मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीका स्थानीयले दुई दशकदेखि डल्फिन संरक्षण अभियान जारी राखेका छन् ।
टीकापुर नगरपालिका र भजनी नगरपालिकाको डल्फिन सर्किट क्षेत्रमा डल्फिन सचेतना सप्ताहव्यापी अभियान सुरु भएको छ । टीकापुर नगरपालिकाको वडा नम्बर ७ र भजनी नगरपालिका वडा नम्बर ८ को सहयोग, नेपाल जैविक विविधता संरक्षण नेपालको सहकार्य र डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालको आयोजनामा अभियान सुरु गरिएको हो । अभियानको भजनी नगरपालिका प्रमुख शेरबहादुर चौधरीले सोमबार उद्घाटन गरेका हुन् । अभियान अन्तर्गत डल्फिनको बारेमा विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने, प्रचारप्रसार गर्ने, डल्फिन गणना, रचनात्मक कार्य गरिने आयोजक डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुंगानाले जानकारी दिए । अभियान १३ भदौसम्म सञ्चालन हुनेछ । मोहना, पथरैया र काढा नदीको संगमस्थलमा हरेक वर्षायाममा डल्फिन देखिन्छ । डल्फिन संरक्षणका लागि २०५७ सालदेखि स्थानीय निरन्तर जुटिरहेका छन् ।