जानकी-३ पनि बालविवाह मुक्त वडा घोषणा

जानकी–३ लाई बालविवाह मुक्त वडा घोषणा गर्दै गाउँपालिका उपाध्यक्ष भूमिसरा धिताल र वडा नं. ३ का अध्यक्ष विन्द्रेश्वरी कुर्मी । फोटो : मेरो खुसी

बञ्जारे गाउँ (बाँके) : बाँकेको जानकी गाउँपालिकाको चौथो वडा पनि बालविवाह मुक्त घोषणा भएको छ ।
बिहीबार बञ्जारे गाउ्रँमा आयोजित कार्यक्रममा जानकी–३ लाई गाउँपालिका उपाध्यक्ष भूमिसरा धिताल र वडा अध्यक्ष विन्द्रेश्वरी कुर्मीले बालविवाह मुक्त वडा घोषणा गरेका हुन् । जानकी–३ जिल्लामा बालविवाह मुक्त वडा घोषणा हुने १४औं वडा भएको छ ।
यसअघि जानकीका वडा नं. १, २ र ४ बालविवाह मुक्त वडा घोषणा भइसकेका छन् । जिल्लामा एउटै पालिकामा ४ वटा वडा बालविवाह मुक्त घोषणा गर्ने जानकी दोस्रो स्थानीय तह भएको छ । यसअघि नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १, २, १० र १२ बालविवाह मुक्त वडा घोषणा भइसकेका छन् । बाँकेका ८ वटै स्थानीय तहमा बालविवाह मुक्त वडा घोषणा गर्न प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजना सञ्चालन गरेको छ ।