नेपालगन्ज रंगशालाको व्यवस्थापन राखेपले अरुलाई नदिने

राखेप सदस्य गोविन्द भट्टराई

नेपालगन्ज : नेपालगन्ज रंगशालाको व्यवस्थापन राष्ट्रिय खेलकुद परिषद् आफैले गर्ने भएको छ ।
राजधानीभन्दा बाहिरका खेलकुदका भौतिक पूर्वाधारहरु प्रदेश वा स्थानीय सरकारलाई दिनुपर्ने माग बढिरहेको बेला राखेपले नियमावली परिमार्जनको मस्यौदा बनाएर देशका प्रमुख सहरका ठूला भौतिक पूर्वाधार आफू मातहतमा राख्ने निष्र्कषमा पुगेको हो । राखेप सदस्य गोविन्द भट्टराईले मंगलबार नेपालगन्जमा पत्रकार भेटघाटमा नियमावलीको मस्यौदामा नेपालगन्ज, धनगढी, महेन्द्रनगरलगायत देशका प्रमुख सहरमा रहेका संरचना आफैै मातहत राख्न प्रस्तावित गरिएको छ । नेपालगन्ज रंगशाला लगायतका पूर्वाधार व्यवस्थापनको जिम्मेवारी दिन उपमहानगरपालिका प्रमुख डा.धवल शम्शेर राणाले माग गर्दै आएका छन् । यद्यपी मस्यौदाबारे अझै खेल क्षेत्रका सरोकारवालाबीच छलफल भइसकेको छैन ।
‘अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हुने पूर्वाधार केन्द्र सरकारको, राष्ट्रिय प्रतियोगिता हुने प्रदेश सरकार र जिल्ला स्तरीय प्रतियोगिता हुने पूर्वाधारको व्यवस्थापन स्थानीय सरकारलाई दिँदा प्रभावकारी हुने देखिन्छ’, भट्टराई भन्छन्, ‘अहिलेसम्म कुन पूर्वाधारको व्यवस्थापन कसले कसरी गर्ने भन्ने विषयमा राखेप कुनै निष्कर्षमा पुग्न सकेको छैन ।’ ८औं राष्ट्रिय खेलकुद प्रतियोगितापछि झन्डै साढे २ वर्षयता राखेपको बैठक बस्न नसकेकाले पनि भौतिक पूर्वाधारबारे निर्णय नभएको बताइएको छ । बैठक नबस्दा राखेपले ८औं राष्ट्रिय खेलकुद र साफ प्रतियोगिताको आयव्यय पनि पारित गर्न सकेको छैन ।