पश्चिम नेपालमा जरोकिलो महाअभियान टोली

नेपालगन्ज : सनातन धर्म महासंघ नेपालको टोली पश्चिम नेपालका विभिन्न जिल्लामा जरोकिलो महाअभियानमा जुटेको छ ।
महासंघका अध्यक्ष तगा अभियानका डा.निर्मलमणि अधिकारीको नेतृत्वको टोली कञ्चनपुर, कैलाली, बर्दिया, बाँकेहुँदै दाङ पुुगेको हो ।नेपालगन्जमा आयोजित कार्यक्रममा काठमाडौं विश्वविद्यालयका सहप्राध्यापकसमेत रहेका अध्यक्ष अधिकारीले मंगलबार दिउँसो नेपालगन्जमा आयोजित कार्यक्रममा नेपालमा चाहेर नचाहेर पनि पुनर्जागरण हुने दाबी गरे । उनले भने, ‘पछिल्लो समयमा घरघरमा योग बढेको छ । संस्कृत शिक्षामा मोह बढेको छ । गुरुकुल बढिरहेका छन् । अनि आयुर्वेदको प्रयोग बढिरहेको छ । यो पुनर्जागरणको संकेत हो ।’

 

पौराणिक तपोभूमि नेपालका बारेमा वेदमै उल्लेख भएको बताउँदै उनले विस्तारै नेपाली समाज आफ्नो मौलिकतामा फर्कँदैै गए पनि राजनीति भने मौलिक राजनीति हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । नेपालगन्ज आउनु अघि जरोकिलो महाअभियानको टोली कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित शारदा पीठ, भम्केनीधाम, कैलालीको टीकापुरस्थित योगाश्रम, मल्लिका विद्यापीठ गुरुकुल र टीकापुर सामुदायिक पुस्तकालयमा कार्यक्रम गरेर फर्केको थियो । नेपालगन्जको वेस्टर्न मलमा जरोकिलो सत्सङ गरेर टोली मंगलबार दाङ फर्केको हो । डा. अधिकारी २०७२ सालदेखि जिरोकिलो महाअभियानमा जुटेका छन् ।

जरोकिलो महाअभियानमा कस्ता मानिसहरुको नेतृत्व छ र हुनुपर्छ ?

१. केही मानिसहरु यथास्थितिवादी हुन्छन् ।
उनीहरुलाई अहिले जे छ त्यही मन पर्छ र परिवर्तनका कुरा मन पर्दैन । सत्तावृत्तमा हालीमुहाली रहेको वर्ग, भ्रष्टाचार, कालाबजारी, लुट, फिरौती, अनुचित दलाली जस्ता तरिकाले टन्न कमाइरहेको वर्ग र तिनीहरुका आसेपासेहरु प्रायः यथास्थितिवादी हुन्छन् ।

२. केही मानिसहरु हिजोवादी हुन्छन् ।
उनीहरुलाई वर्तमान अवस्था र व्यवस्था मन पर्दैन, तर त्यसको विकल्पमा नयाँ परिवर्तनमा जाने सोच हुँदैन र बितिसकेका व्यवस्थालाई राम्रो भन्छन् । इतिहासको राम्रो जानकारी नभएका र उम्केको माछो मात्र ठूलो देख्ने सोच भएका हुनाले हिजोवादी मानिसहरुले राणाकालमा नेपाल स्वर्गतुल्य थियो भन्न समेत बेर लगाउँदैनन् । नेपाल पुनः एकीकरणभन्दा पहिलेका भुरेटाकुरे रजौटा वा जातीय सर्दारका नाममा पहिचानको बखेडा झिकेर संकीर्ण पहिचानवादी राजनीति गर्नेहरु पनि हिजोवादी नै हुन् ।

३. केही मानिसहरु अराजकतावादी हुन्छन् ।
उनीहरुको रुचि नै स्थापित मूल्य मान्यता एवं संस्थाहरु भत्काउने हो ।

४. केही मानिसहरु प्रतिक्रियावादी हुन्छन् ।
उनीहरुको मुख्य विशेषता नै जेमा पनि प्रतिक्रिया मात्र दिने, अरुलाई गाली गलौज, निन्दा, शंका र घृणा गर्ने, कुनै समस्याको समाधान नदिने र जहातहिँ समस्यै समस्या मात्र देखाउने प्रवृत्ति हो ।

५. केही मानिसहरु ध्वंशवादी हुन्छन् ।
उनीहरुलाई ध्वंश, हिंसा, घृणा मन पर्छ । के निहुँ पाऊँ र गालीगलौज, तोडफोड, हिंसामा लागौँ भनेर तम्तयार रहन्छन् । कतिपय कुरामा यिनीहरुको अराजकतावादीहरु र प्रतिक्रियावादीहरुसँग मिलिभगत पनि हुन्छ ।

६. केही मानिसहरु बतासे वा पिपलपाते हुन्छन् ।
उनीहरुको कुनै परिपक्व सोच हुँदैन । जता माहोल देख्छन्, उतै कुद्छन् ।

७. केही मानिसहरु मौकावादी हुन्छन् ।
उनीहरु जता र जे कुरामा लाग्दा प्रत्यक्ष फाइदा हुन्छ त्यतै लाग्छन् । बतासे वा पिपलपाते भन्दा यिनीहरु के मानेमा फरक हुन्छन् भने तिनीहरु आफूलाई प्रत्यक्ष फाइदा नभएतापनि माहोल अनुसार कुद्ने हुन्छन् भने मौकावादीहरु माहोल भन्दा पनि आफूलाई हुने प्रत्यक्ष फाइदा हेर्छन् । आफैले विरोध गरेको सम्विधान अन्तर्गतको सरकारमा पद लिएर त्यही संविधान विश्वकै उत्कृष्ट भन्दै भाषण गर्नु, संसदीय व्यवस्थाको विरोध गरेको भ्रम पनि छर्दै यही व्यवस्थामा सत्ताको लुछाचुँडीमा लिप्त हुनु पनि मौकावाद हो ।
८. केही मानिसहरु पराईवादी हुन्छन् ।
पराई प्रतिमानलाई नै उत्कृष्ट देख्ने मानसिक दासता उनीहरुको मुख्य विशेषता हो । नेपाललाई सिंगापुर जस्तो वा स्वीजरल्याण्ड जस्तो वा स्क्यान्डिनेभियन देशहरु जस्तो वा जापान जस्तो वा अमेरिका जस्तो बनाउने कुरा उनीहरु गर्छन् । वि।सं। २००७ सालदेखि वेस्टमिन्स्टर प्रणालीको संसदीय व्यवस्था, चीनको जस्तो जनवाद, रुसको जस्तो समाजवाद वा त्यस्तै केही भनेर नेपाली जनतालाई अलमल्याइरहेका पार्टीहरु पनि पराईवादी कित्ताकै हुन् ।

९. केही मानिसहरु स्थितिगत्यात्मक प्रगतिवादी हुन्छन् ।
यस्ता मानिसहरु विगत, वर्तमान र आगतको विश्लेषण गर्छन्, इतिहासको कैदी बन्दी बन्दैनन् र इतिहासबाट पाठ सिक्छन् । विगतमा योगदान दिएका महान् व्यक्तिहरुलाई सम्मान गर्ने, विगतमा विभेद, अन्याय र पीडामा परेका समुदायहरुप्रति समानुभूति राख्ने र देशका सबै नागरिकलाई समावेश गर्ने सोच यिनीहरुको हुन्छ । यिनीहरु कारणकार्यात्मक विश्लेषण गर्न सक्छन् र वैचारिक स्पष्टता, विश्लेषणमा तार्किकता एवं प्रस्तुतिमा प्रखरता यिनीहरुको विशेषता हुन्छ । यिनीहरुमा स्वक्रियात्मक प्रवृत्ति हुन्छ । यिनीहरु विज्ञान, प्रविधि, धर्म र सहृदयताको समन्वय गर्न सक्छन् । यिनीहरु शिक्षित, प्रशिक्षित एवं दीक्षित हुन्छन् । बहुनायकत्व र अनायकत्व दुइटैको खराबी जानेका हुनाले यिनीहरुले विशिष्ट नेतृत्त्व, सामूहिक कर्तृत्त्व र संस्थागत स्वामित्त्वको पद्धति अवलम्बन गर्छन् । यिनीहरुमा आफ्नो मूल नेतृत्त्वलाई भरोसा, सम्मान एवं आदर गर्ने गुण हुन्छ । यिनीहरु मौलिकतालाई प्रतिमान र अन्यत्रका कुरालाई उपमान लिन्छन् । पुनर्जागरण र आधुनिकताको समन्वय गर्ने दृष्टिकोण यिनीहरुको हुन्छ ।

माथि उल्लेखित नौ वटा समूहहरुमध्ये जरोकिलो महाअभियानमा कस्ता मानिसहरुको नेतृत्व छ र हुनुपर्छ भन्ने विचार गरौँ । स्पष्टतः बुँदा नम्बर ९ अनुसारका व्यक्तिहरुको अगुवाइमा जरोकिलो महाअभियान खडा भएको छ । जरोकिलो महाअभियान परिवारले समाजका, देशका सबैलाई सम्बोधन, समन्वय र समावेश गर्नै पर्छ, तर यो महाअभियानका अग्रणी हुने सदस्य, अभियानकर्ता एवं नेतृत्वकर्ताहरु माथि उल्लेखित नवौँ समूहका हुनु पर्छ । समाजमा, देशमा तरह तरहका मानिसहरु हुने भएकाले तिनीहरुले जरोकिलो महाअभियानको सिद्धान्त, नीति, नेतृत्त्व, संरचना र क्रियाकलापको विरोध गर्छन् नै । कतिपयले त आक्रमण नै गर्न पनि सक्छन् । अग्रणी शक्तिलाई अरुले विरोध र आक्रमण गर्नु स्वाभाविक हो । अनेकौँ चुनौतीहरुलाई जितेर नै सफलता पाइने हो । अघि बढौँ यो युग हाम्रो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *