नगर प्रमुख विष्टको सीसीटिभी जडान गर्ने बाचा पूरा

बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीलाई सीसीटिभी क्यामेरा हस्तान्तरण गर्दै नगर प्रमुख प्रशान्त विष्ट । फोटो सौजन्य : गोविन्द शर्मा

नेपालगन्ज : नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले नगरमा उच्च गुणस्तरको सीसीटिभी जडान गर्ने बाचा पूरा गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाले बुधबार १६ वटा सिसिटिभी क्यामरा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीलाई हस्तान्तरण गरेपछि नगर प्रमुख विष्टको बाचा पूरा भएको हो । २३ असार २०७९ मा नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जमा आयोजना गरेको अवैध आयात नियन्त्रणमा सरोकारवालाको भूमिका विषयक अन्तरसंवाद कार्यक्रममा नगर प्रमुख विष्टले जमुनाहा नाकामा निगरानी बढाउन उच्च गुणस्तरको सीसीटिभी र डिस्प्ले बोर्ड लगाउने बाचा गरेका थिए । हस्तान्तरण कार्यक्रममा नेपालगन्जमा शान्ति सुरक्षा र ट्राफिक ब्यवस्थापनलाई मध्येनजर गर्दै सीसीटिभी क्यामरा हस्तान्तरण गरेको जनाइएको छ । यद्यपि नगर प्रमुख विष्टले बाचा गरे अनुसार सीमानाका जमुनाहामा सीसीटिभी जडान हुन्छ कि हुँदैन ? त्यो भने हेर्न बाँकी नै छ ।