जयेन्दु बाल सुधार गृहलाई खेलकुद र शैक्षिक सामग्री सहयोग

बाँकेकोे जयेन्दु बाल सुधार गृहकी इन्चार्ज विमला काउचा मगरलाई खेलकुद र शैक्षिक सामग्री हस्तान्तरण गर्दै द आर्ट अफ लिभिङका स्वामी ओमकारानन्द

नेपालगन्ज : बाँकेको जयेन्दु बाल सुधार गृहलाई खेलकुद र शैक्षिक सामग्री सहयोग गरिएको छ ।
द आर्ट अफ लिभिङ नेपालकी कन्ट्री को–अर्डिनेटर मिखा माथेमाले व्यक्तिगत रुपमा पठाएको ६५ हजार रुपैयाँको खेलकुद र शैैक्षिक सामग्री आइतबार द आर्ट अफ लिभिङ मुख्यालय भारतको बेङ्ग्लोरबाट आएका स्वामी ओमकारानन्दले बाल सुधार गृहकी इन्चार्ज विमला काउचालाई हस्तान्तरण गरेका हुन् ।
द आर्ट अफ लिभिङका स्वयंसेवक सुधीर गौतमका अनुसार कापी ३८० वटा, कलम ३८० वटा, ड्रङग कापी ५० वटा, पेन्सिल कलर सेट ५० वटा, फुटबल ३ वटा, भलिबल ३ वटा, क्रिकेट सेट र १२ वटा लेदर बल, भलिबल जाली, ब्याटमिन्टन ४ वटा, ब्याटमिन्टन कक ६ वटा, चेस ५ वटा, लुडो ५ वटा, क्यारेम बोर्ड एउटा हस्तान्तरण गरिएको हो । बाल सुधार गृहकी इन्चार्ज काउचा मगरले बाल सुधार गृहका बालकका लागि खेलकुद सामग्री तनाव मुक्त गर्न मद्दत मिल्ने बताइन् ।

हाँस्न जानेका छौ : स्वामी ओमकारानन्द
बाल सुधार गृह पुगेका स्वामी ओमकारानन्दले बालकहरुसँग सोधे, ‘हाँस्न जानेका छौं ?’ बालकमध्ये निकै कमले हात उठाए । स्वामीले थपे, ‘हाँस्न जानेकोले त हाँसेर पो देखाउनु पर्छ ।’ केहीको मुहारमा मन्द मुस्कान देखियो धेरै मौन नै भए ।
‘मैले तिमीहरुको मुहारमा तनाव देखिरहेको छु । मानसिक र शारीरिक रुपमा स्वस्थ हुनका लागि पनि तिमीहरुले खेल्नुपर्छ । योग ध्यान गर्नुपर्छ’, शैक्षिक र खेलकुद सामग्री हस्तान्तरण गर्दै स्वामी ओमकारानन्दले भने, ‘कुनै परिबन्धमा परेर तिमीहरुबाट गल्ती भयो । जीवनमा गल्ती सबैबाट हुुन्छ । गल्ती दोहो-याए मुर्ख हुन्छौं । गल्तीबाट पाठ सिक्न सकेर सत्कर्ममा लागेमा घर, परिवार र समाजका लागि उदाहरणीय व्यक्ति बन्न सक्छौं ।’