कैलालीका बाढी पीडितलाई ‘तत्कालको राहात प्याकेज’ स्थानीय युवाबाट वितरण

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीमा बाढीबाट विस्थापित परिवारलाई स्थानीय युवाले राहात वितरण गरेका छन् ।
शुक्रबार र शनिबारको अविरल वर्षासँगै आएको बाढीले विस्थापित परिवारको सेवामा स्थानीय सरकार भन्दा युवाहरु अग्रसर भएका छन् ।
टीकापुर नगरपालिका–७ सत्तीका युवा सञ्जाल टीकापुर र डल्फिन युवा समाजले विभिन्न सेल्टर हाउस, उच्च सुरक्षित भवन र विद्यालयमा आश्रय लिएर बसेका बाढी पीडितलाई तयारी खाना र पानी वितरण गरेका हुन ।
टीकापुर–७ का करिब ७० प्रतिशत घरधुरी डुबानमा परेको अवस्थामा यस्तो कठिन परिस्थितिमा रहेका बाढी पीडितहरुका लागि वडास्थित युवा संजाल सत्तीले आइतबार ३५ पेटी पानी ५ पेटी चाउचाउ, ३० पाकेट भुजा , १२ दर्जन बिस्कुट वितरण गरेका छन् ।सञ्जालमा आवद्ध युवाले सामाजिक कामका लागि मासिक १०० रुपैयाँ संकलन गर्ने गरेको र सञ्जालको कामबाट प्रभावित मनकारी व्यक्तिको सहयोगबाट सामाजिक काम गर्ने गरेको युवा सञ्जाल सत्तीका सचिव किर्त ठकुल्लाले बताए ।
त्यसैगरी ओजुवाताल डल्फिन युवा क्लब बैदीले पनि वडाका विभित्र स्थानमा आश्रय लिएर बसेका बाढीपीडितलाई ५ पेटी पानी, ५ पेटी बिस्कुट र ५ पेटी चाउचाउ वितरण गरेको छ । बाढीपीडितको सडक ,उच्च घर, विद्यालयमा भोकै बस्नुपर्ने अवस्था भए पनि स्थानीय सरकार भने अहिलेसम्म बेखबर भएको टीकापुर ७ का भोजराज ढुङ्गानाले बताए ।
स्थानीय सरकारभन्दा अगाडि बाढी पीडित माझ युवा पुगेको उनले बताए । टीकापुर नगरपालिकाका १ देखि ९ वटै वडा डुबानमा परेका छन् । विभिन्न स्थानमा आश्रय लिएर बसेका बाढीपीडितलाई खाना ,खानेपानी ,शौचालयको तत्काल आवश्यकता रहेको स्थानीयको भनाइ रहेको छ ।
कैलालीको टीकापुर नगरपालिका, भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिकालगायतका विभिन्न स्थानहरुमा बाढीका कारण स्थानीय प्रभावित भएका छन् । टीकापुर नगरपालिकाका वनगाउ, फाटा, भगवानपुर, भर्तापुर प्रतिपुर दुर्जनपुर लगायत एक दर्जन टोल डुबानमा परेका छन् । त्यस्तै, भजनी नगरपालिका वडा न १ देखि ९ वडाका विभिन्न टोल डुबान भएको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ ।