प्रदेश मन्त्रीसँग बाँकेका पर्यटन व्यवसायीका १२ माग

नेपालगन्ज : लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकीप्रसाद यादवसँग बाँकेका पर्यटन व्यवसायीले १२ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
शुक्रबार नेपालगन्ज आएका मन्त्री यादवलाई बाँकेका पर्यटन व्यवसायीको तर्फबाट नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल, हान बाँकेका अध्यक्ष दिवाकर खनाल, होटल व्यवसायी संघ लुम्बिनी प्रदेश अध्यक्ष भास्कर काफ्ले र पर्यटन प्रबद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम कलेज)नेपालगन्जमा स्थापना भए पनि बजेट अभावको कारण देखाउँदै १५ दिन अघि कर्मचारीलाई फिर्ता बनाएको दुःख व्यक्त गर्दै पुनः सञ्चालनको पहल गर्न भनिएको छ ।
त्यसैगरी नेपालगन्ज लगायत पर्यटकीय गन्तव्य भएका जिल्लाहरुमा पर्यटन प्रहरी गठन गरी परिचालन गर्नुपर्ने, ट्राभल एजेन्टको अनुमति नलिएर हवाइ टिकट जारी गर्ने अनलाइन तथा वित्तीय संस्थाहरुको अवैध कारोबार तत्काल रोक्नुपर्ने, जमुनाहा नाकामा हाल बन्द अवस्थामा रहेको पर्यटन सूचना केन्द्रमा आवश्यक दरबन्दी कायम गरी पुनः सञ्चालन गर्नुपर्ने र नेपालगन्ज दिल्ली हवाइ उडानका लागि पहल गर्न माग गरिएको छ ।


०००
नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल लुम्बिनी प्रदेशका मन्त्री जानकीप्रसाद यादवलाई मागबारे जानकारी गराउँदै