बाँकेमा आगलागीका घटनामा ४१ प्रतिशत विद्युत सर्टबाट

नेपालगन्ज : बाँकेमा आगलागीका घटनाका झण्ठै आधा विद्युत सर्टबाट हुने गरेको छ ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडीपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा सिडीएम नेपाल र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर)ले विपद व्यवस्थापनमा निजी क्षेत्रको भूमिकाका विषयक छलफल कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघको विपद् व्यवस्थापन समितिसँग सहकार्यमा आयोजना गरेको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका बारुणयन्त्र शाखा प्रमुख झइनबहादुर खड्काले जिल्लामा भएका कूूल आगलागीका घटनामा विद्युत सर्टका कारण मात्र ४१.३७ प्रतिशत आगलागीका घटना हुने गरेको बताए । बाँकेमा चार वर्षको अवधिमा ३४८ वटा आगलागीका घटना भएकोमा १४४ त विद्युत सर्टका मात्र छन् । आगोबाट २५.५७, र अज्ञात २१.८३ प्रतिशत, ग्यासबाट ६.६० प्रतिशत रहेको छ ।
नगर कार्यपालिका सदस्य एवम् पूर्वाधार विकास संयोजक वसन्त कनौजियाको अध्यक्षतामा विपदमा खोज, उद्दार र राहत व्यवस्थापनमा निजी क्षेत्रले विगतदेखि नै सहयोग र सहकार्य गर्दै आएको स्मरण गरे । विपद प्रतिकार्यमा सहयोगी भावना, सहभागिता, निगरानी र मूल्यांकन हुन सके निजी क्षेत्रको भूमिका अझ प्रभावकारी हुने बताए ।

नेपालगन्ज उद्योग बाणिज्य संघका विपत संयोजक टीकामणि उपाध्यायले व्यवसायीहरु विपदमा सधैं हातेमालो गर्न तत्पर रहेको प्रतिबद्धता जनाएका थिए ।  सुपरले भूकम्पीय जोखिम न्यूनीकरणका लागि डेढ वर्षदेखि सचेतना प्रवर्द्धन गरिरहेको छ । सुपरले विपद विरुद्ध जुध्न दक्ष जनशक्ति समेत उत्पादन गरिरहेको छ ।
नेपालगन्ज पश्चिम क्षेत्रको हब र ट्रान्जिट प्वाइन्ट भएकाले विपद प्रतिकार्यमा निजी क्षेत्रको भूमिका सधैं अपरिहार्य हुने भन्दै नेपालगन्ज आफैं पनि सुरक्षित हुनुपर्नेमा जोड दिइएको छ । आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली र युनिसेफका प्राविधिक अधिकृत नरेश निदालले पश्चिम नेपालमा भूकम्पको जोखिम, अन्य सम्भावित विपद, पूर्व तयारी, प्रतिकार्य र यो प्रक्रियामा निजी क्षेत्रको भूमिकाका विषयमा सहजीकरण गरेका थिए ।’