‘शतक रक्तदाता पवनजी बधाइ छ !’

नेपालगन्ज : पत्रकार पवन जायसवालले १००औं पटक रक्तदान गरेका छन् । पत्रकार जायसवाल नेपालगन्जको रेडियो कृष्णसार र जनमत पत्रिकालगायत मिडियामा कार्यरत छन् ।
२०४६ साल असोज महिनादेखि निरन्तर रुपमा रक्तदान गर्दै आएका पत्रकार जायसवालले जनमत पत्रिकाको ६०औं त्रैमासिक रक्तदान श्रृङ्खलामा एक सय पटक रक्तदान पूरा गरेका हुन् । उनी बाँकेमा धेरै रक्तदान गर्नेमा दोस्रो नम्बरमा छन्् । नेपालगन्ज उपमहानगरपालिकाको वारुण यन्त्रमा कार्यरत गोपीलाल वैश्य जिल्लाकै सबैभन्दा धेरै पटक १५६औं पटक र देशमा सबैभन्दा धेरै रक्तदान गर्ने दोस्रो ब्यक्ति हुन् ।
जनमत पत्रिका र एसओएस नेपालगन्जको आयोजना र नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके जिल्ला कार्य समितिको समन्वयमा बिहीबार नेपालगन्जमा आयोजित त्रैमासिक रक्तदान कार्यक्रममा १००औं पटक रक्तदान गर्ने पत्रकार जायसवाललाई शतक रक्तदाताको रुपमा सम्मान गरिएको थियो । नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दीला शाह, जनमतका सम्पादक पूर्णलाल चुके, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकारहरु दैनिक नेपालगन्जका सम्पादक झलक गैरे, अन्नपूर्ण पोष्ट दैनिकका उप सम्पादक तथा मेरोखुसी डटकमका सम्पादक शंकरप्रसाद खनालले दोसल्ला ओढाएर जायसवाललाई सम्मान गरेका थिए । सम्मानपछि पत्रकार जायसवालले सम्मानले नियमित रक्तदान गर्न उर्जा थपिएको बताएका थिए । शतक रक्तदान गरेपछि पत्रकार जायसवाललाई बधाइ दिनेको ओइरो लागेको छ । उनका दौतरीले भनेका छन्, ‘शतक रक्तदाता पवनजी बधाइ छ ।’

जनमतले बिहीबार नै रक्तदानको महान अभियानमा हातेमालो गरी सहकार्य गर्ने सिद्धबाबा हार्डवेयर तथा स्टार पोलिपाइप प्रा.लिका सञ्चालक कमल कार्की र ६० रक्तदान कार्यक्रममा नियमित प्राविधिक सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी बाँकेको प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीलाई प्रशंसा पत्र प्रदान गरेको थियो ।

बाँकेको नेपालगन्जबाट प्रकाशित जनमत पत्रिका र एसओएस नेपालगन्जको आयोजना र नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके जिल्ला कार्य समितिको समन्वयमा बिहीबार नेपालगन्जमा आयोजित त्रैमासिक रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, खेलाडी लगायत नियमित स्वयंसेवी रक्तदाता गरी सात महिलासहित ४१ जनाले रक्तदान गरेका थिए ।

खजुरा क्यान्सर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा.सुभाष मेहता, वरिष्ठ पत्रकार झलक गैरे र एसओएस नेपालगन्जका नायब निर्देशक तुलाराम विश्वासले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिकहरु होमराज गिरी, सन्दिप आचार्य र पुनम रानालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । जनमतको रजत वर्ष–२०६३ वैशाखदेखि रक्तदान जीवनदानको उद्देश्यका साथ नियमित रुपमा त्रैमासिक रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।