शालिक अनावरणले गुल्जार भए नेपालगन्जका चोक
नेपालगन्ज : जेन्जी आन्दोलन र दोस्रो जनआन्दोलनमा तोडफोड भएका शालिकको पुननिर्माणपछि अनावरण गरिँदा नेपालगन्ज सहरका चोक गुल्जार भएका छन्् ।
२० वर्षदेखि बहुप्रतिक्षित धम्बोझीको वीरेन्द्र चोकमा राजा वीरेन्द्रको पूर्ण कदको शालिक पुननिर्माण गरी शनिबार नगर प्रमुख प्रशान्त विष्टले अनावरण गर्नु भयो । अनावरण समारोहमा पुगेका राप्रपा सहमहामन्त्री ऋषिराज देवकोटा लगायतका राजावादीहरुले हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ नारा घन्काएका थिए । २०६२/०६३ को आन्दोलनको बेला राजा वीरेन्द्रको शालिक भत्काइएपछि पटक पटक राख्ने प्रयास असफल भएको थियो ।
संविधानका पिताको उपमा पाएका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पनि नेपालगन्जको ट्राफिक चोक नजिक अर्धकदको शालिक बनाइएको छ ।
नगर प्रमुख विष्टले जेन्जी आन्दोलनमा तोडफोड भएका वीपी चोकको वीपी कोइराला, गणेशमान चोकको गणेशमान सिंह, पुष्पलाल चोकको पुष्पलाल श्रेष्ठ र शहिद सेतु विकको चोकको शालिक पनि पुनर्निमाण गरेर अनावरण गर्नु भयो ।

त्यसैगरी शनिबार नै बाँकेको खजुरामा रेडक्रसकर्मी नेपाल रेडक्रस सोसाइटी बागेश्वरी उपशाखा खजुराका संस्थापक सभापति स्व. मिलन सापकोटाको पनि शालिक अनावरण गरिएको छ । खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक र उपप्रमुख मञ्जु मल्लले रेडक्रस उपशाखा भवन परिसरमा अनावरण गर्नु भएको हो ।









