गायत्री शक्तिपीठ गुलरियाका संस्थापक अध्यक्ष गुप्ताको निधन

संजय आचार्य । गुलरिया

बर्दियाको गुलरियास्थित गायत्री शक्तिपीठका संस्थापक अध्यक्ष राधेश्याम गुप्ता (पोरवाल)को ६९ वर्षको उमेरमा निधन भएको छ। गुप्ता जिल्लाका अग्रणी समाजसेवी, खाद्यान्न व्यवसायी, उद्योग वाणिज्य संघ गुलरियाका दर्तावाल सदस्य हुनुहुन्थ्यो । शनिबार दिउँसो ३ बजे बर्दियाको भादाघाटमा अन्त्येष्टि गरिएको थियो। गुलरिया नगरपालिका–८ का स्थायी बासिन्दा गुप्ताका श्रीमती, चार छोरा र दुई छोरी रहेका छन्।

५ दशकदेखि गायत्री अभियानमा लागेका गुप्ता
गुप्ताले किशोरावस्थादेखि नै गायत्री परिवारको अभियानमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। गायत्री शक्तिपीठका पुजारी पण्डित लालजी शुक्लाका अनुसार उहाँ १८ वर्षको उमेरदेखि नै गायत्री परिवारसँग आबद्ध भई तन, मन र धन समर्पण गर्दै जीवनको अन्तिम क्षणसम्म धर्म, संस्कार र आध्यात्मिक चेतनाको प्रवर्द्धनमा निरन्तर सक्रिय रहनुभयो। शुक्लाले गुप्तालाई गायत्री परिवारका लागि पिता समान व्यक्तित्वको रूपमा स्मरण गर्दै नेपालमा गायत्री परिवारको जग बसाल्न र विस्तार गर्न उहाँको योगदान अतुलनीय रहेको बताउनुभयो। उहाँका अनुसार गुप्ताले गाउँ–गाउँ गोरुगाडा र लडियामार्फत पुगेर धार्मिक जागरण र नैतिक मूल्यको सन्देश फैलाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो।
वि।सं। २०६३ सालमा बर्दियामा गायत्री शक्तिपीठ स्थापना भएपछि त्यसको विकास, विस्तार र संस्थागत सुदृढीकरणमा पनि गुप्ताको नेतृत्वदायी भूमिका रहेको पुजारी शुक्लाले बताउनुभयो। शक्तिपीठका हरेक धार्मिक तथा सामाजिक गतिविधिमा उहाँ अग्रसर हुने र परम पूज्य गुरुदेवसँग सम्बन्धित कुनै पनि सेवामूलक कार्यमा पहिलो पङ्क्तिमा रहेर योगदान गर्ने उहाँको विशेषता रहेको शुक्लाको भनाइ छ।
गुलरिया नगरपालिका–८ का वडा अध्यक्ष धर्मेन्द्र बानियाँले गुप्ताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपालमा गायत्री परिवारको स्थापना, प्रचार–प्रसार तथा धर्ममार्गको विस्तारमा उहाँले ऐतिहासिक योगदान दिएको उल्लेख गर्नुभयो। उहाँले भारतको शान्तिकुञ्जसँग लामो समयदेखि आबद्ध रहँदै आफ्नै घरबाट पहिलो गायत्री मन्दिर स्थापना गरी अभियान सुरु गरेको स्मरण गर्नुभयो। गुप्ताले स्थापना गर्नुभएको ट्रष्ट तथा धार्मिक संस्थालाई उहाँकै आदर्श र मार्गदर्शनअनुसार निरन्तर अघि बढाउन सबै भक्तजन र समुदायलाई आग्रह गर्दै बानियाँले दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो।
उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष इन्द्रकुमार श्रेष्ठले पनि गुप्ताको निधनले समाज, धार्मिक क्षेत्र तथा व्यवसायिक समुदायले एक प्रेरणादायी व्यक्तित्व गुमाएको बताउनुभयो। उहाँले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारलाई यो पीडा सहने शक्ति प्राप्त होस् भन्ने प्रार्थनासहित उद्योग वाणिज्य संघ परिवारको तर्फबाट समवेदना समेत व्यक्त गर्नुभयो।