नेपालगन्ज उद्योग वाणिज्य संघमा ५ हजार बढी सदस्यले गरे नविकरण
नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि शनिबार अपरान्हसम्म ५ हजार बढीले नविकरण गरेका छन् भने साढे ६ सय बढीले नयाँ सदस्यताको लागि आवेदन दिएका छन् ।
संघका अध्यक्ष टंकबहादुर धामीका अनुसार शनिबार अपरान्ह ५ बजेसम्म ७ दिनभित्र नविकरण गरिसक्ने समय सीमा तोकिएकोमा नयाँ र पूराना गरी ५ हजार ६७९ जना मतदाता पुगेका छन् । सदस्यताको लागि निवेदन दिनेको संख्या भने ६६१ जना रहेको अध्यक्ष धामीले प्रष्ट पार्नुभयो । मतदाताको अन्तिम सूची भने संघको निर्वाचन समितिले गर्नेछ ।
संघले आगामी ३० साउनमा ३४ र ३५औं वार्षिक साधारणसभा र १ भदौमा नयाँ कार्य समिति चयनका लागि निर्वाचन गर्दैछ । निर्वाचनमा समावेशी प्यानलबाट संघका वर्तमान बरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओेली र प्रजातान्त्रिक उद्योगी व्यवसायी संघबाट संजय थापाले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नु भएको छ । अन्य पदको भने उम्मेदवारी घोषणा भएको छैन ।








