‘फूल रोप्ने र पार्किङ बनाएर मात्र भेरी अस्पतालमा कस्तो सौन्दर्यकरण हुन्छ ?’

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले आयोजना गरेको पत्रकार सम्मेलन

नेपालगन्ज : भेरी अस्पताल परिसरका झन्डै आधा सटर भत्किसकेका छन् । अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी बाँके शाखा र नेपाल चिकित्सक संघका गरी एक दर्जन सटर र दुई तले भवन भत्काउन १५ दिने सूचना जारी गरिएको छ । अदालतले अस्पतालले सटर भत्काउने कार्यलाई सदर गरिदिएको छ । ढिलो चाँडो भत्काउने निश्चित नै छ । पूरानो भवन भत्काएर नयाँ बनाउने संरचनाको पक्ष र विपक्षमा बहस जारी छ ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले बुधबार कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी सभापति गोेबद्र्धन सम्झनाले ब्लड बैंकलाई अर्को विकल्प नदिएसम्म भवन नभत्काउन अस्पताल विकास समितिसँग आग्रह गरे । ‘रेडक्रसले सटरबाट वार्षिक १२ लाख ७२ हजार रुपैयाँ आम्दानी गरिरहेको छ । त्यसैबाट ब्लड बैंकका कर्मचारीको तलब भत्ताको जोहो भइरहेको छ’, उनले नरम शैलीमै भने, ‘भवन भत्कियो भने खर्चको जोहो कसरी गर्न सक्छौं ? त्यसको विकल्प के हो ः? कि अस्पतालभित्रै हामीलाई आवश्यक पर्ने सबै सुविधाहरु उपलब्ध हुनुप¥यो ।’ उनले अस्पतालको विकासमा रेडक्रसको साथसमर्थन रहने र अस्पताल र ब्लड बैंंक एक अर्काका परिपूरक भएकाले
सभापति सम्झनाले रेडक्रसका पूर्वकेन्द्रीय उपाध्यक्ष अजितकुमार शर्मालाई पनि कुरा राख्न आग्रह गरे । ‘हामी सटर भत्काउँदैनौं । भत्काउन पनि दिँदैनौं’, शर्माले आक्रोस पोखे । यतिमै उनी रोकिएनन् । ‘अस्पतालको सौन्दर्यकरण भनेको के हो ? अस्पतालको सबै सेवा सुविधा राम्रो भइसक्यो ? शौचालय नै सफा छन् त ? बिरामीले सबै सेवा निकै राम्रो पाएका छन् त ?’, अस्पताल विकास समितिसँग उनले प्रतिप्रश्न गरे, ‘सटर भत्काएर फूल रोप्दैमा र पार्किङ क्षेत्र बनाएर मात्र अस्पतालमा सौन्दर्यकरण हुन्छ त ?’ उनले भारतका राम्रा अस्पतालमा स्वास्थ्य परीक्षण, उपकरण र दक्ष जनशक्ति राम्रो भएर मात्र चलेको उदाहरण दिएका थिए ।
रेडक्रसकर्मीका अनुसार सम्भवतः राजधानी बाहिर पहिलो पटक २०३३ सालमा बाँके शाखाले ब्लड बैंक स्थापना गरेको हो । रेडक्रसले भाडामा दिएका ६ वटा सटर र र दुई तले भवन भेरी अस्पतालको जग्गामा छ । ब्लड बैंकको मुख्य भवन रहेको एक हजार इस्क्वायर फुटको भवन भने २०४६ सालमा मन्त्रिपरिषद्को निर्णयबाट रेडक्रसको मातहतमा छ । त्यो बाहेक रेडक्रसले भोगचलन गरिरहेको सबै घरजग्गा र सटर प्रयोग गर्न पाउने कुनै सम्झौता वा लिखित कागजात केही पनि छैन । यही आधारमा भेरी अस्पताल विकास समितिले रेडक्रसले चर्चेका सटरहरु भत्काएर फलामे डण्डीसहितको पर्खाल मात्र लगाउने तयारी गरिरहेको छ ।