इन्फारेट थर्मामिटर कालोबजारी गर्ने लाइफ केयर सर्जिकललाई दुई लाख रुपैयाँ जरिवाना

लाइफ केयर सर्जिकलमा अनुगमन टोली । फोटो सौजन्य : वसन्त गौतम

नेपालगन्ज : ६ हजार रुपैयाँमा खरिद गरेको इन्फारेट थर्मामिटरलाई कालो बजारी गरी १० हजारसम्ममा बिक्री गर्ने नेपालगन्जको धम्बोजीस्थित लाइफ केयर सर्जिकल नामक औषधी पसललाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।
संयक्त बजार अनुगमन टोलीले बुधबार उपभोक्ता झुक्याइ बढी मूल्यमा इन्फारेट थर्मामिटर बिक्रि गर्ने सर्जिकल पसललाई जरिवाना गरेको अनुगमनमा सहभागी उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य वसन्त गौतमले जानकारी दिए ।
अनुगमन टोलीले उक्त सर्जिकल पसललाइ खरिद मुल्यमा अधिकतम बिस प्रतिशत भन्दा बढी मुनाफा नलिन बिक्रि गर्न र औषधी ब्यवस्था बिभागले सिफारिश गरेको मुल्य बढीमा सेनिटाईजर बिक्रि नगर्न आदेश दिएको छ ।
अनुगमनमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमित्त प्रमुख कृष्णप्रसाद पौड्याल, उपभोक्ता हित संरक्षणबाट गौतम, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हृदेश सापकोटा, प्रनानी पूर्णबहादुर वली, जिल्ला प्रशासन कार्यालयका वेदेश्वर गौतम, औषधि ब्यवस्था विभाग नेपालगन्जका फार्मेसी सुपरभाइजर लोकेश गिरी,नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ अधिकृत गणेश कार्कीलगायतको सहभागिता रहेको थियो ।