अवैध आयात नियन्त्रण गर्न सरोकारवालाको साझा प्रतिबद्धता

नेपालगन्ज : भारतबाट हुुने अवैध आयात नियन्त्रण गर्न बाँकेका सरोकारहरुले साझा प्रतिबद्धता जनाएका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघले बिहीबार नेपालगन्जमा आयोजना गरेको अवैध आयात नियन्त्रणमा सरोकारवालाको भूमिका विषयक अन्तरसंवाद कार्यक्रममा जनप्रतिनिधि, प्रहरी, प्रशासन, भन्सारकर्मी, उद्योगी व्यवसायी सबैले अवैध आयात रोक्न आ–आफ्नो क्षेत्रबाट पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले वर्षौदेखि प्रहरी प्रशासनले कुनै काम नगरेको आरोप लाग्दै आएको बताउँदै उपमहानगरले सानो टिम बनाएर सात दिनभित्रै ठोस कदम चाल्ने बताए । उनले जमुनाहा नाकामा निगरानी बढाउन उच्च गुणस्तरको सीसी टिभी र डिस्प्ले बोर्ड लगाउन उमहानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए । नगर उपप्रमुख कमरुद्दिन राईले भने सीमापारीबाट सामान ल्याएर जिविकोपार्जन गर्ने व्यक्ति र समूहको संरक्षण गर्नमा जोड दिएका थिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले अवैध आयात नियन्त्रण गर्न प्रहरी प्रशासनले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । उनले भने, ‘तस्करी नियन्त्रण गर्न प्रहरी प्रशासन संस्थागत रुपमा नै चिन्तित छ । अवैध काममा कुनै संलग्नता छैन । अवैध नियन्त्रण गर्न कुनै कसर बाँकी राख्ने छैनौं । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको महासचिव चिरञ्जीवी ओलीले सहजीकरण गरेका छन् । नेपाल प्रहरीका बाँके प्रमुख एसपी श्यामकृष्ण अधिकारी, सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी गणका एसपी जनक बस्नेत, नेपालगन्ज भन्सार कार्यालयका प्रमुख अर्जुनकुमार न्यौपाने, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, नेपालगन्ज उद्योग वाणिज्य संघका सल्लाहकार नन्दलाल वैश्यलगायतले अवैध आयातको समस्या र समाधानका उपायबारे धारणा राखेका थिए । कार्यक्रममा उद्योगी व्यवसायीहरुले अवैध आयातबाट परेको समस्याबारे ध्यानाकर्षण गरेका थिए ।