रेडक्रसको प्रारम्भिक द्रुत लेखाजोखा तालिम सम्पन्न

नेपालगन्ज : नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा प्रारम्भिक द्रुत लेखाजोखा तालिम बुधवार नेपालगन्जमा सम्पन्न भएको छ ।
युरोपियन युनियनको सहयोग तथा युनिसेफ नेपालको साझेदारीमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ र ७ मा सञ्चालित शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाद्वारा विपद् प्रतिकार्यमा समुदायको क्षमता अभिबृद्धि गर्ने अभिप्रायले उक्त तालिम आयोजना गरिएको हो ।
तालिममा विपद्का शब्दावली, विपद् व्यवस्थापन चक्र, प्रारम्भीक द्रुत लेखाजोखाको मोबाइल एप्सबाट फाराम भर्ने तारिका र विस्तृत घरधुरी सर्वेक्षण लगायत विषयमा सैद्धान्तिक ज्ञान र व्यहारिक अभ्याससमेत गरिएको थियो ।
तालिममा कार्यक्रम सञ्चालित वडाका जनप्रतिनिधि, वडा सचिव, नेपालगन्ज उपमहानगरपालिकाभित्र रहेका नेरेसो उपशाखाका सभापति एवं प्रतिनिधि, नेपाल प्रहरीको प्रतिनिधि र स्वयं सेवकहरुको सहभागिता रहेको थियो । नेरेसो बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली र कार्यक्रम अधिकृत प्रल्हलाद विश्वकर्माले तालिममा सहजीकरण गरेका थिए ।

नेरेसो सदरलाइन उपशाखाका सभापति ओमप्रकाश आजादको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, उपनिर्देशक दोलखबहादुर डाँगी, नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष प्रशान्त श्रेष्ठ, वडा नं. ३ का आयुव सिद्धिकी र नेपालगन्ज उपमहानगरपालिकाको विपद् फोकल पर्सन प्रकाश डिसीलगायतले विपद् व्यवस्थापनका विषयमा धारणा राखेका थिए ।