भेरी अस्पताल स्थापनाको १३२ औं वर्षमा प्रवेश

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्ज स्थापनाको १३२औं वर्षमा प्रवेश गरेको छ । वि.स.१९४७ मा काठमाडौंको वीर अस्पतालसँगै भेरी अस्पताल पनि स्थापना गरिएको हो । यो अस्पतालको सुरुको नाम पृथ्वी–वीर डिस्पेन्सरी, २०१६ सालमा पृथ्वी वीर अस्पताल रत्नराज्य लक्ष्मीदेवी प्रसुति गृह र २०२२ सालमा भेरी अञ्चल अस्पताल हुँदै, भेरी प्रादेशिक र अहिले भेरी अस्पता (केन्द्रीय अस्पताल) भएको छ ।
संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको प्रमुख आतिथ्यमा अस्पतालले बिहीबार १३२औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । राज्यमन्त्री केसीले साबिकको मध्य र सुदूरपश्चिमाञ्चल क्षेत्रको पूरानो र रेफरल अस्पताल भेरीका लागि आवश्यक पर्ने सबै खालको सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘यो बुटवल पश्चिमको सबैभन्दा पूरानो र इतिहास बोकेको अस्पताल हो । अस्पताललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न मन्त्रालयको तर्फबाट मेरो सहयोग हुनेछ ।’
कार्यक्रममा भेरी अस्पतालले अस्पताल विकास समितिका पूर्वअध्यक्ष, पूर्वमेसु, २५ वर्ष सेवा गरेका कर्मचारीलाई सम्मान गरेको थियो । सो अवसरमा अस्पतालको वार्षिक स्मारिका अक्सिजनको पनि विमोचन गरिएको थियो । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि डा. श्याम सुन्दर यादव, राप्रपा महामन्त्री डा.धवल शम्शेर राणा, नेकपा एकीकृत समाजवादीका केन्द्र्रीय सदस्य अशोेक कोइराला, नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्ट, एमाले सचिव रत्न खत्री, माओवादी केन्द्रका नेता डिल्ली बराल, भेरी अस्पतालका पूर्वमेसु डा.वीरेन्द्रबहादुर चन्द, नेपालगन्जका पूर्वमेयर विजयकुमार गुप्तलगायतले अस्पतालको सफलताको कामना गरेका थिए ।