मेरो खुसीको समाचारबाट सत्तीका क्यान्सर पीडित बालकलाई सहयोग जुट्दै

टीकापुर : कैलालीको टीकापुर नगरपालिका-७ सत्तीका क्यान्सर पीडित १२ वषीय बालक समीर चौधरीलाई सहयोग आउन थालेको छ ।
टीकापुर-७ बैदी निवासी हाल अमेरिकामा अध्ययनरत मदन साउँदले मेरो खुसी डटकमका कैलाली संवाददाता मानबहादुर ठकुल्लालाई १० हजार रुपैयाँ पठाएका हुन् । मेरो खुसीमा प्रकाशित समाचार पढेर सहयोग गरेको साउँदले बताएका छन् । यो रकम संवाददाता ठकुल्लाले युवा सरोकार समूह सत्तीका अध्यक्ष सन्तोष नेपालीलाई बिहीबार हस्तान्तरण गरेका छन् ।
यही रुपैयाँ बोकेर समीरको परिवार उपचारका लागि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गर्न गएको छ । मेरो खुसी टिमले अस्पतालका निर्देशक कृष्ण आचार्यलाई सम्पर्क गरी आवश्यक सहयोग गर्न अनुरोध गरेको छ । डा.आचार्यले भने, ‘बालक अस्पतालमा आइसकेका छन् । हामी भोलि बायोप्सी गर्न जाँदैछौं । चिन्ता नगर्नुहोस् । हामी उनको लागि आवश्यक सहयोग गर्नेछौं।’ युवा सरोकार समूहले पनि रकम संकलन जारी राखेको छ । बुधबारसम्म स्थानीय ब्यापारी लगायतबाट १९ हजार रुपैयाँ संकलन भएको थियो ।