लुम्बिनी प्रदेशमा मिलेर पर्यटकीय क्षेत्रको विकास गरौं : पर्यटन मन्त्री चौधरी

नेपालगन्ज : लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशको पर्यटकीय क्षेत्रको विकास र पर्यटन प्रबद्र्धन गर्न पर्यटन व्यवसायीसँग सहकार्य गर्ने बताएका छन् । नाट्टा बाँके च्याप्टरले शुक्रबार नेपालगन्जमा आयोजना गरेको मन्त्री र पर्यटन व्यवसायीबीचको भेटघाट कार्यक्रममा मन्त्री चौधरीले सरकार र नीजि क्षेत्रको सहकार्यमा मात्र पर्यटकीय क्षेत्रको राम्रो विकास हुने बताए ।

पर्यटन व्यवसायीलाई पर्यटन क्षेत्रको विकास सम्भावनाबारे खाका तयार गर्न आग्रह गर्दै उनले त्यसमा छलफल गरेर कार्यान्वयन गर्न मन्त्रालय तयारले सहजीकरण गर्ने धारणा राखे । पर्यटकीय क्षेत्र विस्तार, पर्यटन व्यवसायीका कार्यक्रमबारे फेरि अर्को चरणमा छलफल गर्न आफू नेपालगन्ज आउने बताए । प्रदेशका टुर्स एण्ड ट्र्भल्स व्यवसायीको नविकरण कुन निकायमा गर्ने भन्ने अन्यौलता रहेका कारण कोरोनाकाल यता दर्ता प्र्रक्रिया अवरुद्ध भइरहेको बेला मन्त्री चौधरीले आफ्नो मन्त्रालयमार्फत सबै प्रक्रिया गर्न चाँडै नै प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने प्रष्ट पारे । कार्यक्रममा नेपालन्जका पर्यटन व्यवसायीहरुले लुम्बिनी प्रदेशमा पर्यटकीय गन्तव्य विस्तार, पर्यटकीय क्षेत्रको विकास र सम्भावनाबारे मन्त्री चौधरीलाई सुझाव दिएका थिए ।