बाँकेमा फोहरबाट मोहर बनाउने कार्यक्रम सुरु

नेपालगन्ज : बाँकेमा फोहरबाट मोहर आर्जन गर्न कार्यक्रम सुरु भएको छ ।
विश्वका चिकित्सकहरु नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह (बी ग्रुप)ले जिल्लाको नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र खजुरा गाउँपालिकामा पेशागत तथा वातावरणीय स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको हो । बी ग्रुपले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमका संस्थाका कार्यकारी निर्देशक डम्मर सुनारले फोहर व्यवस्थापनको थ्री पी (कम प्रयोग, पुनः प्रयोग र प्रशोधित गरेर प्रयोगबारे) मोडलबारे सर्वसाधारणलाई जानकारी गराएर फोहरबाट मोहर बनाइने बताए । उनले भने, ‘सकेसम्म फोहर कम उत्पादन गर्ने, फलाम, प्लाष्टिक र कागज बेचेर आम्दानी गर्न सकिन्छ । कुहिने फोहरबाट मल बनाउन सकिन्छ । फोहरको प्रशोधन गरेर पुनः प्रयोग गर्न सकिन्छ । यसो गर्न सकेमा फोहर समस्या होइन मोहर आर्जन गर्ने माध्यम बन्न्नसक्छ ।’
कार्यक्रममा विश्वका चिकित्सकहरु नामक अन्तर्राष्ट्रिय संस्थाको नेपालगन्ज कार्यक्रम प्रबन्धक वसन्त थापाले परियोजनाले सफाइकर्मी, स्वास्थ्यकर्मी र तरकारी खेती गर्ने किसानका लागि काम गर्ने बताए । उनले नेपालगन्ज-२०, डुडुवा-६ मिरमिनियाँ र खजुरा-२ का किसानलाई बिषादीरहित तरकारी खेतीका लागि प्रोत्साहन गर्न बताए ।

परियोजनाले सरसफाइ सम्बन्धी जनचेतना जगाउन नेपालगन्जमा वृहत कार्यक्रम गर्दैछ । सरसफाइसँग सम्बन्धी जनचेतना जगाउन आगामी २९ साउनमा नेपालगन्जमा बृहत कार्यक्रम हुँदैछ । जस अन्तर्गत प्रभात फेरि, सडक नाटक, स्टल प्रदर्शनी र सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रमले पेशागत तथा वातावरणीय स्वास्थ्य कार्यक्रमले नागरिकको फोहर व्यवस्थापनमा सचेतना बढाउन ३०० जना सरोकारलाको सहभागितामा प्रभात फेरि गरिँदैछ ।