देशका संक्रमितमा प्रदेश ५ का ४४ प्रतिशत (प्रदेश सूचीसहित)

प्रदेश ५ र २ मा १०/१० जना चिकित्सकको टोली पठाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा निर्णय

नेपालगन्ज : नेपालमा प्रदेश ५ मा कोरोना संक्रमणको उच्च जोखिमयुक्त प्रदेश भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले मंगलबार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा देशभरी संक्रमितको संख्यामध्ये प्रदेश ५ मा सबैभन्दा बढी संक्रमित रहेको जानकारी दिए ।
देशका सात वटै प्रदेशमा तीन सय ४० पुरुष र ६२ महिला संक्रमित रहेकोमा प्रदेश ५ का मात्र एक सय ७६ जना रहेको मन्त्रालयले जनाएको छ । यो संख्या कूल संक्रमितमध्येको ४३ दशमलव ७८ प्रतिशत हुन आउँछ । प्रदेश ५ को बाँकेमा मात्र सर्वाधिक ९३ जना कोरोना संक्रमित छन् । कपिलवस्तु, रुपन्देही, बर्दिया र दाङ जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् ।
प्रदेश ५ पछि धेरै संक्रमित प्रदेश २ मा एक सय ३६ जना छन् । त्यसैगरी प्रदेश एक मा ५४, बागमति प्रदेशमा २७, सुदूरपश्चिम प्रदेशमा ५, गण्डकी प्रदेशमा ४ र कर्णाली प्रदेशमा एक जनामा कोरोना संंक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण उच्च रहेका प्रदेश ५ र २ मा १०/१० जना चिकित्सकको टोली पठाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा निर्णय गरिएको छ । यी प्रदेशका बढी कोरोना प्रभावित जिल्ला र क्षेत्रमा चिकित्सक खटाइने प्रवक्ता देवकोटाले प्रष्ट पारे ।

क्वारेन्टाइनमा पनि धेरै प्रदेश ५ मै
देशैभरी २१ हजार ६ सय २३ जना क्वारेन्टाइनमा रहेकोमा प्रदेश ५ कै सबैभन्दा बढी छन् । मन्त्रालयका अनुसार प्रदेश ५ मा १३ हजार ६ सय ३८ जनालाई राखिएको छ । त्यसपछि प्रदेश १ मा १० हजार एक सय ७८ जना छन् । प्रदेश २ मा तीन हजार चार सय ८१ जना, सुदूरपश्चिममा एक हजार नौ सय ३६, कर्णाली प्रदेश ६ सय ९९, गण्डकी प्रदेश तीन सय ५९ र बागमति प्रदेशमा तीन सय ३२ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।