बाँके-बर्दियाका व्यवसायीद्वारा बैंक ब्याजदरविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक

बाँके-बर्दियाका उद्योगी व्यवसायीले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष तथा समितिका संयोजक टंकबहादुर धामी ।

नेपालगन्ज : बाँके–बर्दियाका उद्योेगी व्यवसायी बैंक तथा वित्तीय संस्थाको ब्याजदरविरुद्ध आन्दोलित भएका छन् ।
चार दर्जन बढी उद्योगी व्यवसायी सम्बद्ध संघसंस्थाले व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति (बाँके र बर्दिय) गठन गरेर बुुधबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । ‘२०२४ आर्थिक समृद्धिको वर्ष, एकल अंक ब्याज व्यवसायीको हर्ष’ भन्ने मूल नाराका साथ संघर्ष समितिले उद्योगी व्यवसायीबीच अन्तरक्रिया कार्यक्रम, सरकार र गर्भनरलाई ज्ञापन पत्र बुझाउने, पत्रकार सम्मेलनमार्फत मागहरु सार्वजनिक गर्र्ने, आन्दोलनको तयारीबारे गाउँ, नगर र जिल्ला संघमा छलफल गर्ने, सरोकारवालाबीच बहस गर्ने, बाँकेको कोहलपुर, बर्दियाको गुलरिया र बाँसगढीमा कोणसभा, नेपालगन्जमा व्यवसायिक सभा गर्ने संघर्षका कार्यक्रम सार्वजनिक गरिएको हो ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष तथा व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समितिका संयोजक टंकबहादुर धामीले पत्रकार सम्मेलनमा आफ्ना मागहरु पूरा नभए उद्योग र व्यवसायमा ताला लगाएर साँचो सरकारलाई बुझाउने चेतावनी दिए । उनले भने, ‘नेपाल सरकार तथा सरोकारवाला निकायले हाम्रो मागलाई तत्कालै सम्बोधन नगरे उद्योगी, व्यवसायी बाध्य भइ उद्योग, प्रतिष्ठानहरुमा ताला लगाइ सरोकारवाला निकायलाई चाबी बुझाइ कठोर अन्दोलनका कार्यक्रमहरु गर्नेछौँ ।’
नेपाल सरकारको अव्यवहारिक कर नीति, बैंक तथा वित्तीय संस्थाको मनोमानी एवं खुला सिमानाको असरबाट उद्योगी, व्यवसायीले भोग्नुपरेका समस्याहरुको समाधानका लागि चरणबद्ध संघर्षका कार्यक्रम गर्ने उनले चेतावनी दिए ।
यस अघि केही दिन अघि संघर्ष समितिले प्रधानमन्त्री, अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनरलाई १४ बुँदे ज्ञापन पत्र बुझाएर उद्योगी व्यवसायीका समस्या र मागबारे ध्यानाकर्षण गरेका थिए ।